Shittalpati
चिसोमा ख्याल गरौँ

मंसिर महिनाको सुरु देखि नै चिसो बढ्न थालेको छ । कात्तिकदेखि नै बिस्तारै तापमान न्यून हुँदै गई चिसो बढ्न थालेको छ । कात्तिकलाई उछिन्दै मङ्सिरमा थप चिसो बढेको छ । पुस तथा माघका दिन त अझ चिसो हुने नै छन् । अहिले बिहान र बेलुकाको तापक्रम घट्दै जाँदा जनजीवन प्रभावित हुन थालेको छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती महिला तथा शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई चिसोले बढी असर गर्ने गर्दछ । जाडो मौसम प्राकृतिक रूपमा आउने नियमित ऋतु भए पनि यस समयमा अपनाउनुपर्ने सावधानीमा ध्यान नदिँदा विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छन् । त्यसैले चिसोबाट बच्न समयमै सचेत हुनु आवश्यक छ । चिसो बढेसँगै रुघाखोकी, ज्वरो, निमोनिया, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने जोखिम बढ्छ । विशेषगरी साना बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा चिसोले छिटो असर पु¥याउन सक्छ । यस्तो अवस्थामा न्यानो कपडा लगाउने, शरीरलाई तातो राख्ने, पोषिलो तथा तातो खानेकुरा खाने र सरसफाइमा ध्यान दिने बानी बसाल्नुपर्छ । चिसो लागिसकेपछि मात्र उपचार खोज्नुभन्दा रोग लाग्नै नदिन आवश्यक सावधानी अपनाउनु बुद्धिमानी हुन्छ । 

अर्कोतर्फ, चिसोबाट बच्ने नाममा आगो ताप्दा र कोठाभित्र कोइला, दाउरा वा ग्यास हिटर प्रयोग गर्दा विशेष सतर्कता अपनाउनुपर्छ । हावा आवतजावत नहुने गरी कोठा बन्द गरेर आगो ताप्नु वा हिटर बाल्नु अत्यन्त जोखिमपूर्ण हुन्छ । यसबाट निस्कने कार्बन मोनोअक्साइड ग्यासले निसास्सिने र ज्यानै जाने अवस्था निम्त्याउन सक्छ । त्यसैले आगो ताप्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउनुपर्छ । आगो तापेर उठेपछि निभाउने र विद्युतीय उपकरण प्रयोग गर्दा पनि सावधानी अपनाउन आवश्यक छ । चिसोको सबैभन्दा बढी मार आर्थिक रूपमा कमजोर, विपन्न, असहाय तथा सडकमा आश्रित नागरिकले खेप्नुपर्ने हुन्छ । पर्याप्त न्यानो कपडा, ओढ्ने ओछ्याउने र सुरक्षित आवासको अभावमा उनीहरूको दैनिकी कष्टकर बन्ने गरेको छ । यस्तो अवस्थामा स्थानीय सरकार, सामाजिक संघसंस्था, राजनीतिक दल, नागरिक समाज तथा सहयोगी मनहरूले विपन्न परिवारलाई न्यानो कपडा, कम्बल र आवश्यक सामग्री उपलब्ध गराउन अग्रसर हुनुपर्छ । जाडोले कसैको स्वास्थ्य, जीवन र दैनिकीमा गम्भीर असर नपारोस् भन्ने उद्देश्यले सबै पक्ष सचेत र जिम्मेवार बन्न जरुरी छ । त्यसैले चिसो बढ्दै गएको यस समयमा लापरवाही नगरौँ, आफू पनि सुरक्षित रहौँ र अरूलाई पनि सुरक्षित राख्न सहयोग गरौँ ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update