Shittalpati
कलममाथि नेल लगाएर लोकतन्त्र बलियो हुँदैन !

विशाल दर्लामी
लोकतन्त्रमा सत्ता जनताप्रति उत्तरदायी हुनुपर्छ, जनता सत्ताप्रति होइन । सरकार जनताको मतबाट निर्वाचित हुन्छ, तर त्यसको अर्थ सरकारका हरेक निर्णय र गतिविधि निर्विवाद हुनुपर्छ भन्ने होइन । लोकतन्त्रको वास्तविक सौन्दर्य नै यही हो कि सत्तामा बस्नेहरूलाई प्रश्न गर्न पाइन्छ, उनीहरूका कमजोरी औँल्याउन पाइन्छ र गलत निर्णयको सार्वजनिक आलोचना गर्न पाइन्छ । जुन व्यवस्थामा प्रश्न गर्ने अधिकार सुरक्षित हुँदैन, त्यहाँ लोकतन्त्रको औपचारिक आवरण त बाँकी रहन सक्छ, तर यसको आत्मा जीवित रहन सक्दैन ।

यतिबेला सरकारका गलत निर्णय र कार्यशैलीमाथि प्रश्न उठाउने पत्रकार तथा सञ्चारमाध्यमलाई लक्षित गरी धरपकड, धम्की र त्रासको वातावरण सिर्जना गरिएको विषय गम्भीर चिन्ताको विषय बनेको छ । सञ्चारगृहलाई भिजिलान्ते प्रयोग गरेर तर्साउने, पत्रकारलाई भयभीत बनाउने र आलोचनात्मक समाचार तथा विचारलाई निरुत्साहित गर्ने गतिविधि यदि राज्यसत्ताको संरक्षण वा संलग्नतामा भइरहेका छन् भने त्यो केवल पत्रकारितामाथिको आक्रमण होइन, समग्र लोकतान्त्रिक व्यवस्थामाथिकै चुनौती हो । सरकारको आलोचना गर्नु अपराध होइन । बरु सरकारका कामकारबाहीमाथि निगरानी राख्नु, जनताको पक्षबाट प्रश्न उठाउनु र सार्वजनिक पदमा बसेकाहरूलाई जवाफदेही बनाउनु स्वतन्त्र पत्रकारिताको आधारभूत जिम्मेवारी हो । पत्रकारको कलम सत्ताको प्रशंसापत्र लेख्नका लागि होइन, समाजको यथार्थ उजागर गर्नका लागि चल्नुपर्छ । पत्रकारले सरकारका राम्रा कामको प्रशंसा गर्न सक्छन्, तर गलत काममाथि मौन बस्न बाध्य पारिनु हुँदैन ।

सत्तालाई ऐना देखाउने पत्रकार शत्रु होइन, लोकतन्त्रको पहरेदार हो । सरकारले बुझ्नुपर्ने कुरा के हो भने निर्वाचनमा प्राप्त बहुमत वा जनमत निरंकुश बन्ने अनुमतिपत्र होइन । जनताले दिएको मत शासन गर्ने अधिकार हो, जनताको आवाज बन्द गर्ने अधिकार होइन । बहुमतको सरकार हुनु र आलोचनाभन्दा माथि हुनु फरक कुरा हुन् । लोकतन्त्रमा सरकारको वैधता केवल निर्वाचनबाट मात्र स्थापित हुँदैन, उसको व्यवहार, जवाफदेहिता र नागरिक स्वतन्त्रताप्रतिको सम्मानबाट पनि स्थापित हुन्छ । नेपालको संविधानले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सञ्चारको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । यी अधिकार कुनै सरकारको कृपा वा उदारतामा निर्भर छैनन् । संविधानभन्दा माथि सरकार हुँदैन । त्यसैले सरकारको आलोचना गरेको कारण पत्रकारलाई दुःख दिने, सञ्चारमाध्यमलाई धम्क्याउने वा असहमत विचारलाई बलपूर्वक दबाउने प्रयास संवैधानिक लोकतन्त्रको मर्मविपरीत हुन्छ । अझ चिन्ताजनक पक्ष के छ भने जब राज्यसत्तासँग असहमत हुने आवाजलाई राजनीतिक विरोधी, शत्रु वा षड्यन्त्रकारीको रूपमा चित्रण गर्न थालिन्छ, तब लोकतान्त्रिक सहिष्णुता कमजोर हुँदै जान्छ । सत्ताको आलोचनालाई व्यक्तिगत प्रतिष्ठामाथिको आक्रमण ठान्ने प्रवृत्तिले शासनलाई जनउत्तरदायी बनाउँदैन, बरु सत्तालाई आलोचनाबाट टाढा लैजान्छ । सरकारको असफलता समाचार बन्नु स्वाभाविक हो ।

जनताको पीडा सार्वजनिक बहसको विषय बन्नु स्वाभाविक हो । भ्रष्टाचार, अनियमितता, अन्याय र विभेदमाथि प्रश्न उठ्नु लोकतन्त्रको सामान्य प्रक्रिया हो । पत्रकारितामा पनि जिम्मेवारी र मर्यादा आवश्यक छ । समाचार तथ्यमा आधारित हुनुपर्छ, आलोचना प्रमाण र तर्कमा आधारित हुनुपर्छ । कसैले गलत सूचना सम्प्रेषण गर्छ भने त्यसको कानुनी र व्यावसायिक निरूपण हुनुपर्छ ।  तर त्यसका नाममा पत्रकारलाई धम्क्याउने, सञ्चारगृहमा आक्रमण गर्ने वा राज्यशक्तिको दुरुपयोग गरेर प्रतिशोध साँध्ने छुट कसैलाई हुँदैन । कानुनी शासनको अर्थ नै सबै विवादको समाधान कानुन र न्यायिक प्रक्रियाबाट हुनु हो, बल र धम्कीबाट होइन । इतिहास साक्षी छ, अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण लगाएर कुनै पनि शासन व्यवस्था दीर्घकालीन रूपमा बलियो बनेको छैन। विचारलाई प्रतिबन्ध लगाउन सकिएला, तर विचारको जन्मलाई रोक्न सकिँदैन । समाचारको एउटा ढोका बन्द गरिएला, तर सत्य उजागर हुने बाटो सधैँ बन्द रहँदैन । पत्रकारको हात बाँध्न सकिएला, तर जनताको चेतना र प्रश्न गर्ने अधिकारलाई सधैँ कैद गर्न सकिँदैन । आज पत्रकारमाथि भएको अन्यायलाई केवल पत्रकारहरूको पेसागत समस्याका रूपमा बुझ्नु पनि गलत हुन्छ । आज पत्रकारको बोल्ने अधिकार कुण्ठित भयो भने भोलि आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता पनि जोखिममा पर्न सक्छ । आज एउटा सञ्चारगृहलाई तर्साइयो भने भोलि अरू सञ्चारमाध्यमले पनि आत्मनियन्त्रण गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसपछि समाचारमा सत्यभन्दा सत्ता हाबी हुनेछ, सार्वजनिक बहसमा तर्कभन्दा डर हाबी हुनेछ र लोकतन्त्रमा नागरिकभन्दा शासकको इच्छा ठूलो बन्नेछ । लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी पत्रकारको मात्र होइन ।

राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी, बुद्धिजीवी र आम नागरिक सबैको साझा दायित्व हो । राजनीतिक विचार फरक हुन सक्छन्, सत्ता र प्रतिपक्षका प्राथमिकता फरक हुन सक्छन्, तर प्रेस स्वतन्त्रताको सवालमा कसैले पनि दोहोरो मापदण्ड अपनाउनु हुँदैन । आफू सत्तामा हुँदा आलोचना दबाउने र प्रतिपक्षमा हुँदा प्रेस स्वतन्त्रताको पक्षमा बोल्ने प्रवृत्तिले लोकतान्त्रिक संस्कार विकास गर्दैन । सरकारले तत्काल पत्रकारमाथि भइरहेको धरपकड र सञ्चारगृहलाई त्रसित बनाउने गतिविधिको निष्पक्ष छानबिन गर्नुपर्छ। दोषी देखिएकालाई कानुनी दायरामा ल्याउनुपर्छ । पत्रकारले निर्भीकतापूर्वक समाचार लेख्न पाउने र सञ्चारमाध्यमले स्वतन्त्र रूपमा आफ्नो भूमिका निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्छ । सरकारको शक्ति आलोचकलाई चुप लगाउनमा होइन, आलोचनाको सामना गर्न सक्ने क्षमतामा देखिनुपर्छ । अन्ततः सरकार अस्थायी हो, सत्ता परिवर्तनशील हो, तर लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रता स्थायी महत्वका विषय हुन् । आज सत्तामा बसेकाहरूले भोलि प्रतिपक्षमा रहँदा पनि प्रेस स्वतन्त्रताको आवश्यकता महसुस गर्नुपर्नेछ । त्यसैले प्रेस स्वतन्त्रताको रक्षा कुनै दलविशेषको पक्ष वा विपक्षको विषय होइन, यो लोकतन्त्रको अस्तित्वसँग जोडिएको साझा सवाल हो।याद रहोस्, लोकतन्त्रमा सरकारको काम जनताको आवाज सुन्नु हो, आवाज उठाउनेको घाँटी निमोठ्नु होइन । प्रश्न गर्ने पत्रकारलाई तर्साएर सत्ता सुरक्षित हुन सक्दैन । आलोचनात्मक कलमलाई नेल लगाएर शासन बलियो हुँदैन ।
( लेखक राष्ट्रिय जनमोर्चा पाल्पाका  अध्यक्ष एवं युवा नेता समेत हुन् । )

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update