भैरहवा,आर्थिक वर्ष २०८२/०८३ मा आन्तरिक राजस्व कार्यालय भैरहवाअन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गर्ने एशियन होटल लिमिटेड (एशियन बुद्ध होटल) सहित तीन व्यावसायिक प्रतिष्ठान सम्मानित भएका छन् ।
राष्ट्रिय कर दिवस–२०८३ तथा कर सप्ताह समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा एशियन होटलसहित अम्बे इन्टरनेशनल र एसआर आयल सप्लायर्सलाई सम्मानपत्रसहित सम्मान गरिएको हो । सबैभन्दा बढी आयकर दाखिला गर्नेमा एशियन होटल पहिलो, अम्बे इन्टरनेशनल दोस्रो र एसआर आयल सप्लायर्स तेस्रो भएका छन् । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सम्मानित प्रतिष्ठानका सञ्चालकलाई बधाई दिँदै कर तिर्नु कानुनी दायित्वसँगै राष्ट्र निर्माणमा योगदान गर्ने जिम्मेवारी भएको बताए ।
आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत डोलिन्द्रप्रसाद शर्माका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयलाई १६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकोमा १९ अर्ब १९ करोड रुपैयाँ संकलन भएको छ । यो लक्ष्यभन्दा १३ प्रतिशत बढी हो । चालु आर्थिक वर्षका लागि कार्यालयले करिब २५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको उनले जानकारी दिए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्य, नेपाल अडिटर्स एसोसिएसन रुपन्देहीका अध्यक्ष रामप्रसाद पौडेललगायतले कर प्रशासन र निजी क्षेत्रबीचको सहकार्यले राजस्व संकलनमा थप प्रभावकारिता ल्याउने धारणा राखेका थिए । सम्मानित प्रतिष्ठानका तर्फबाट एशियन होटलका सञ्चालक तिलकराम घिमिरेले करको पूर्ण पालना गर्दै मुलुकको आर्थिक तथा सामाजिक विकासमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।


