Shittalpati
आगन सहकारीको सातौं साधारण सभा

पाल्पा, आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा शनिबार तानसेनमा भएको छ । तानसेन नगरपालिका –२ मा सञ्चालन हुँदै आएको सहकारीले एक औपचारिक कार्यक्रमकाबिच साधारण सभा मनाएको हो । 

सभाको कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका सल्लाहकार राष्ट्रिय वाणिज्य बैंकका पूर्वप्रबन्धक मित्रलाल नेपाली उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै उनले सहकारी संस्थाले शेयर सदस्यको हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।  नेपालीले सदस्यको आर्थिक तथा सामाजिक अवस्था सुधारमा सहकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । विशिष्ट अतिथि जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेले सहकारीप्रति सदस्यको आकर्षण बढाउने र उनीहरूको आवश्यकता सम्बोधन गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले सहकारी संस्थाको दिगोपनका लागि सदस्यको विश्वास र सहभागिता महत्वपूर्ण हुने धारणा राखे । सभामा संस्थाका अध्यक्ष गोपालप्रसाद बस्यालले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रामप्रसाद खनालले आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

यस्तै लेखा सुपरिवेक्षण समितिका संयोजक भविन्द्र गौतमले संस्थाको सबल तथा कमजोर पक्ष औँल्याउँदै सुधारका लागि सुझावसहितको प्रतिवेदन प्रस्तुत गरे  । सोही अवसरमा सहकारीले शेयर सदस्यका एसईई उत्तीर्ण छोराछोरीलाई सम्मान समेत गरेको थियो । सभाले अध्यक्ष र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरेको छ । साथै आगामी आर्थिक वर्षका लागि प्रस्तावित रणनीतिक योजनासमेत सभाले पारित गरेको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद बस्यालको अध्यक्षता, उपाध्यक्ष मिलन विश्वकर्माले स्वागत, सचिव श्रीप्रकाश ढुंगानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update