बुटवल, बुटवलमा पाराग्लाइडिङ उडानको सफल परीक्षण गरिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ नुवाकोट डाँडाबाट बुटवल उपमहानगरपालिका–१३ बेलबास बदेलपोखरी जितेश्वरी मावि क्षेत्रसम्म पाराग्लाइडिङको सफल परीक्षण उडान गरिएको हो ।
लुम्बिनी इगल एअर एडभेन्चर प्रालिले स्याङ्जाको बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा नुवाकोट डाँडाबाट बेलबाससम्म परीक्षण उडान गरेको छ । उडान सफल भएसँगै बुटवलमा पाराग्लाइडिङ सञ्चालनको सम्भावना पुष्टि भएको छ । बुटवल क्षेत्रमा पहिलोपटक पाराग्लाइडिङको परीक्षण उडान सफल भएको लुम्बिनी इगल एअर एडभेन्चर प्रालिका अध्यक्ष डा. किसन थापाले बताए । उनका अनुसार करिब एक दशकअघिदेखि सम्भाव्यता अध्ययन थालिएको योजनाले परीक्षण उडानको चरण पार गरेको हो । ‘करिब एक दशकअघिदेखि यसको सम्भाव्यता अध्ययन गर्दै आएका थियौँ । अहिले परीक्षण उडान सफल भएको छ’, थापाले भने, ‘अब आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै व्यावसायिक उडान सञ्चालन गर्ने तयारीमा छौँ ।’ बुटवलमा पाराग्लाइडिङ सञ्चालन भएपछि यस क्षेत्रको पर्यटनमा नयाँ प्रडक्ट थपिने अपेक्षा गरिएको छ ।
विशेषगरी लुम्बिनी र आसपासका पर्यटकीय क्षेत्रमा आउने पर्यटकको बसाइ लम्ब्याउन पाराग्लाइडिङले सहयोग पुग्ने थापाको भनाइ छ । परीक्षण उडान सफल भएसँगै अब व्यावसायिक उडानका लागि आवश्यक प्राविधिक, सुरक्षा तथा प्रशासनिक प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । बुटवलमा पाराग्लाइडिङ सञ्चालन भएमा लुम्बिनी आउने पर्यटकलाई बुटवल–पाल्पा क्षेत्रको साहसिक तथा प्राकृतिक पर्यटनसँग जोड्ने नयाँ विकल्प थपिने अपेक्षा गरिएको छ ।


