स्थानीय तह लोकतन्त्रको जग हो । नागरिकका दैनिक आवश्यकता, विकास निर्माण, सार्वजनिक सेवा प्रवाह र सुशासनसँग प्रत्यक्ष जोडिएको सरकार स्थानीय सरकार नै हो । त्यसैले स्थानीय निर्वाचन केवल जनप्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र होइन, आफ्नो गाउँ, नगर र समुदायको भविष्य तय गर्ने महत्वपूर्ण अवसर पनि हो । यति बेला स्थानीय तहको आगामी निर्वाचनलाई लिएर राजनीतिक दलहरुमा चहलपहल सुरू भएको छ। सरकारले निर्वाचनको मिति औपचारिकरुपमा घोषणा गरिनसके पनि प्रमुख राजनीतिक दलहरु आफ्नो साङ्गठनिक अवस्था सुदृढ गर्ने, जनतासँगको सम्बन्ध विस्तार गर्ने र चुनावी रणनीति निर्माण गर्ने काममा जुटेका छन् । निर्वाचनका समयमा राजनीतिक दल र उम्मेदवारबीच स्वस्थ प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि स्थानीय विकास र नागरिक हितका सवालमा भने साझा प्रतिबद्धता आवश्यक छ।
स्थानीय निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा सम्भावित उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा र प्रतिबद्धता सार्वजनिक गर्ने क्रम सुरु हुन्छ । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटन, पूर्वाधार विकास र सामाजिक सुरक्षाका विषय सबैका साझा सरोकार हुन् । यस्ता आधारभूत आवश्यकतालाई कुनै एउटा दल वा व्यक्तिको मात्रै एजेन्डा बनाउनु हुँदैन । स्थानीय तहको समग्र विकासका लागि राजनीतिक आस्था र दलगत स्वार्थभन्दा माथि उठेर साझा दृष्टिकोण निर्माण गर्नुपर्छ । निर्वाचनमा गरिने प्रतिबद्धता केवल मतदाता आकर्षित गर्ने माध्यम बन्नु हुँदैन । विगतका निर्वाचनमा पनि अनेकौँ आश्वासन र घोषणापत्र सार्वजनिक भए । तर कतिपय प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा नागरिकमा निराशा बढेको छ । त्यसैले यसपटक दल र उम्मेदवारले पूरा गर्न सकिने, स्थानीय आवश्यकता र स्रोतसाधनअनुसारका योजनालाई प्राथमिकता दिनुपर्छ । लोकप्रियताका लागि असम्भव आश्वासन बाँड्नेभन्दा जनताको वास्तविक समस्या पहिचान गरी समाधानको स्पष्ट खाका प्रस्तुत गर्नु आवश्यक छ । स्थानीय विकासमा राजनीतिक सहमति र सहकार्यको ठूलो महत्व हुन्छ ।
निर्वाचनमा फरक–फरक विचार र दलबाट प्रतिस्पर्धा गरे पनि निर्वाचित भएपछि सबै जनप्रतिनिधि साझा जिम्मेवारीमा बाँधिएका हुन्छन् । विकासका योजना छनोट, बजेट विनियोजन, सार्वजनिक सम्पत्तिको संरक्षण र सेवा प्रवाहमा दलगत आग्रह राख्नु हुँदैन । बहुमत र अल्पमतको राजनीतिक अभ्यासलाई स्वीकार गर्दै नागरिकको हितमा आवश्यक विषयमा सहमति र सहकार्यको संस्कार विकास गर्नुपर्छ । यसले स्थानीय सरकारलाई प्रभावकारी, जवाफदेही र जनउत्तरदायी बनाउन सहयोग पु¥याउँछ। त्यसैले स्थानीय निर्वाचनलाई केवल सत्ता र पद प्राप्तिको माध्यम नबनाई साझा विकासको आधार बनाऔँ ।

