पाल्पा, पाल्पामा ढुंगा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । यहाँको तिनाउ गाउँपालिका–६ सिसुवा खहरेमा हत्याको आरोपमा तिनाउ जन्तीलुङ्गका ३५ वर्षीय नारायण लम्तरी पक्राउ परेका हुन् ।
झैझगडाका क्रममा ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाइएका सिसुवाका ४५ वर्षीय नन्दलाल बजगाईंको मृत्यु भएपछि फरार रहेका लम्तरीलाई सोमबार साझा प्रहरीले पक्राउ गरेको हो । आइतबार साँझा बजगाईं र लम्तरीबीच झगडा हुँदा लम्तरीले बजगाईंको टाउको तथा शरीरका विभिन्न भागमा ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारका लागि जिल्ला अस्पताल पाल्पा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा लम्तरीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो ।
खोजतलासका क्रममा रैनादेवी छहरा गाउँपालिका–४, छहराबजारस्थित जलधारा होटलमा लुकिछिपी बसेको अवस्थामा उनलाई फेला पारी नियन्त्रणमा लिइएको प्रनाउ भट्टराईले बताए । पक्राउ परेका लम्तरीलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


