पुष्कर अथक रेग्मी
१०८ (एक सय आठ) पूर्वीय दर्शन, गणित, धर्म, संस्कृति र योग साधनामा अत्यन्तै विशिष्ट र पवित्र मानिने अंक हो। सामान्य गणितमा यो १०७ र १०९ को बीचमा आउने एउटा पूर्णांक मात्र भए पनि पूर्वीय परम्परामा यसलाई ब्राह्मण्ड, समय, प्राण र चेतनाको समग्रता को प्रतीक मानिन्छ । जीवनका १०८ दृष्टिहरू उजागर गर्दै चारुकार लक्ष्मी दास शर्माले चारु संग्रह ‘चारु सरोवर’(२०८३) प्रकाशित गरेका छन् । माता जानुका भण्डारी र पिता प्रभुदास भण्डारीका सुपुत्र लक्ष्मीदास शर्माको जन्म वि.सं. २०१३ वैशाख १ गतेका दिन तासीछोलिङ, साम्ची, भुटानमा भएको हो । शिक्षा स्नातक बी.एड. उत्तीर्ण गरेका शर्माले राष्टिूय शिक्षा संस्थान, साम्ची, भुटानमा शिक्षा सम्बन्धि तालिम लिनुका साथै लोत्छाम साहित्य प्रभा भुटान र चारु साहित्य प्रतिष्ठान भुटानमा आबद्ध रहेका छन्। लेखन तथा प्रशिक्षणमा रुचि राख्दै आएका शर्माले ‘मुक्तिदाता’भजन एल्बम, ‘सहज जागरण’ भजन एल्बम प्रकाशित गरिसकेका छन् भने यसपटक चारु संग्रह ‘चारु सरोवर’ लिएर उपस्थित भएका छन्।
संग्रहभित्रका चारुहरूमा क्रमशः श्री गणेश वन्दना, जीवन यात्रा, सुख दुःख, माया, हात, बुद्ध र शान्ति, क्रूर मानवीयता, आमा, मुस्कान, श्रीकृष्ण लीला, जिन्दगी, जीवन गाडी, जातपात, फूल, समय, फेसबुक, भाग्य, विरक्त जीवन, परमानन्द, बाँच्नुको अर्थ, जीवन फूल, प्रेम दीप, देश, आदत, बाँच्ने रहर, अहंता त्यागौं, कृषि शिक्षा, देशको माटो, आमाको महिमा, दया भाव, शिक्षा, संघर्षको जिन्दगी, दाजुभाइ, अवरोध, मातृभाषा, घरको माया, सफलता, प्रभु, चराचर, आधुनिकता, पुराना कथ्य, कथा, संसार अचम्म, हारजित, धनी गरिब, संसार फूल, हराएको पहिचान, अभ्यास, स्मृति, व्यवहार, हाँस्नु बोल्नु, घाम, भगवान, अस्तित्व, भुटान देश, नाम, लेखिनु मेटिनु, उतार चढाव, याद गीत, मन, चित्र विचित्र, जागृति इच्छा, मुस्कान, आकाश धर्ती, चौतारी, प्रतीक्षा, आफूलाई चिन, कठोर जीवन, सम्बन्ध, भाग्य, आगो दिल, ठूलो सानो, मन कुरा, कर्म, शिशिर वसन्त, भुटानी वीर, समय, जीवन गोरेटो, स्मृतिमा आमा, नयाँ पुरानो, बंसी कृष्ण, भोक, तँ तर म म, हरित लहर, वसन्त गीत, पृथकता, अधुरो अपुरो जीवन, पर्खाइ, जीवन मरण, वासस्थान, एकता नै बल, खाली हात, प्रेम प्रस्ताव, समय घडी, मन चंगा, सराप, सुनसान मन, लक्ष्मी प्रसाद देवकोटा, सहनशीलता, शंका, गन्तव्यको खोजी, अस्थिर मन, यात्रा, जिन्दगी, सपनाको महल, हास खेल, तिमी नै तिमी, जीवन बोध, घर व्यवहार र लक्ष्मी दास स्वयंको परिचय सहित १०८ वटा जीवन दर्शन उजागर भएका छन्। अर्थात लक्ष्मीदास शर्माको चारु संग्रह ‘चारु सरोवर’ मा १०८ भुटानी जीवन दर्शन रहेका छन् । आध्यात्मिक साधनामा १०८ लाई ध्यान, एकाग्रता र ऊर्जाको सन्तुलनसँग जोडिन्छ । जपमालामा १०८ दाना हुनु पनि साधकले आफ्नो श्वासप्रश्वासलाई लयबद्ध बनाओस् भन्ने हो । कुनै पनि मन्त्र १०८ पटक जप गर्दा चञ्चल मन शान्त भई भित्री चेतनाको यात्रा सुरु हुन जान्छ ।

हिन्दु, बौद्ध, जैन र सिख धर्महरूमा पनि १०८ को महत्त्वपूर्ण स्थान छ । हिन्दु देवदेवीको १०८ नाम पाठ गर्ने परम्परा छ । बौद्ध र जैन परम्परामा पनि १०८ गुणकरहरूको विशेष स्थान रहेको छ । सामाजिक र सांस्कृतिक अर्थ अनुसार पनि १०८ सूर्य नमस्कार, १०८ दीप प्रज्वलन, १०८ कलश पूजा प्रचलनमा छ। कतिपय सामाजिक तथा सार्वजनिक स्थानमा सेवा प्रदान गर्न १०८ लाई आपत्कालीन वा विशिष्ट सेवा नम्बरको रूपमा प्रयोगमा ल्याइएको पाइन्छ। खगोल र ज्योतिष शास्त्र अनुसार २७ नक्षत्र हुने र प्रत्येक नक्षत्रको ४ पाद गरी जम्मा १०८ ले आकाशको तारामण्डल र समयचक्र गणनाको पूर्ण विभाजनलाई जनाइरहेको पाइन्छ ।हाम्रो जीवन यात्रा आध्यात्मिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवं आपतकालीन कर्महरूको योगफल हो । जन्म र मरण बीचको सम्बन्ध हो, नाट्यशाला हो । पात्रै पात्रहरूको संवाद र कथा हो, जीवन दर्शन हो । लक्ष्मीदास शर्माको १०८ चारु सरोवर पनि जीवन दर्शन हो, जसले १०८ वटा दृष्टान्तहरू उजागर गरेका छन् । यी दृष्टान्तहरू नै बास्तवमा हाम्रा जीवन लिलाहरू हुन । चारु संस्कृत शब्द हो, जसको अर्थ सुन्दर अर्थात् मनोहर हुन्छ । विशेषतः बेबहरको गजल नै चारु हुन्। गजलमा बहर अनिवार्य छ, तर चारुमा अनिवार्य छैन । चारु राग–विरागको मिश्रण हो । कुनै वस्तु, स्थान वा व्यक्तिप्रति व्यक्त पवित्र प्रेम, मोह, स्नेह, लगाव राग हो । विकृति, विसंगति, असन्तुष्टि, अन्याय, अत्याचार, हिंसा, व्यङ्ग्य आदि विराग हुन् । चारु सरोवर यसै राग–विरागहरूको संग्रह हो । चारु साहित्य प्रतिष्ठानको कथ्य अनुसार , “ बहर नजान्नेहरूका लागि गजलकै स्वादका चारु वैकल्पिक विधा बनेको छ । चारुले गजललाई परिष्कार गर्दै लगेको छ । नेपाली गजल परिमार्जनको एकमात्र विकल्प चारु बनेको छ ।’’ उल्लेखित कथनलाई आत्मसात् गरी लक्ष्मीदास शर्माद्वारा लिखित एवं चारु साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ‘चारु सरोवर’ का विशेषताहरू मापन गर्नुगर्दा संग्रहभित्रका सरोवरमा १०८ वटा अलग–अलग फूलहरू फक्रेका छन्। जुन फूलहरू कुनै गुलाब जस्तै काँडाबिच त कुनै कमल जस्तै शान्त तलाउमा फक्रिएका छन् ।
गजल र चारुको अन्तर जान्न चाहनेहरूका लागि प्रस्तुत संग्रह प्रस्ट रूपमा उपस्थित भएको छ । नेपाल र भारतमा मात्र नभई भुटान जस्तो मुलुकमा पनि चारु लोकप्रिय हुँदै गएको छ । १०८ मन्त्रोच्चारणले सुशोभित चारु संग्र्रह भुटानमा नेपाली भाषा, साहित्य, व्याकरण र लयको व्यापीकरणमा नवीनतम सिद्धान्त बनेर उभिएको छ । चारु सिक्न र लेख्न चाहनेहरूका लागि समेत उदाहरणीय रहेको छ ।चारुहरू पारखीका लागि महनीय, स्रष्टाका लागि मननीय र गजल तथा चारु साहित्यको इतिहासमा संग्रहणीय कृतिको रहन सकोस् । चारु प्रवर्तक डा. देवी पन्थीले प्रकाशकीयमा बताएसँगै, “यो चारु संग्रहले भुटानबाट गजल शुद्धीकरण अभियान अन्तर्गत प्रकाशित पहिलो ऐतिहासिक संग्रहको रूपमा नेपाली साहित्यको इतिहासमा प्रथम स्थान पाउने छ।“ नेपाली वाङ्मयको इतिहासमा चारु साहित्यको श्रीवृद्धिका लागि लक्ष्मीदास शर्माको कृति ‘चारु सरोवर’ सोध, खोज, सोच, बोध र ओजपूर्ण रहेको छ । चारुकारलाई कृतिगत सफलताको शुभकामना । ‘चारु सरोवर’ नेपाल र भुटानको १०८ जीवन दर्शन सहित साहित्य र साहित्यकारलाई जोड्न सफल रहोस् । शुभकामना।


