Shittalpati
सकियो दुई दिने पाल्पा सम्पदा साइकलयात्रा

पाल्पा, पाल्पामा सञ्चालित दुई दिने पाल्पा सम्पदा साइकलयात्रा सकिएको छ । यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रका प्रचार–प्रसारको लागि आयोजना गरिएको सम्पदा साइकल यात्रा ‘पाल्पा हेरिटेज राइड २०८३’ सोमबार सकिएको हो । 

तानसेनदेखि सुरु भएको साइकल यात्रा निस्दी गाउँपालिकाको झिरुवास काउलेडाँडा हुँदै रामपुर पुगेर समापन गरिएको जिल्ला साइक्लिङ संघले जनाएको छ । सहभागीहरुले तानसेन नगरपालिका, बगनासकाली, माथागढी, रम्भा, पूर्वखोला, निस्दी गाउँपालिकाका साथै रामपुर नगरपालिकाका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रको अवलोकन गरेका थिए ।पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर पाल्पा क्षेत्र नं  १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाको सहयोगमा  साइकलिङ संघले  साइकल यात्रा  आयोजना गरेको हो । जहाँ विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहसँगै काठमाडौं, पोखरा, कपिलवस्तु रुपन्देही, नवलपरासी, नेपालगञ्जलगायत विदेशबाट समेत १८० साइकल यात्रीहरुको  सहभागिता रहेको थियो । 

उनीहरुले नेपालकै सबैभन्दा ठूलो कवुलियती वन अन्तर्गत ५० लाख अम्लिसो रोपण गरिएको क्षेत्र काउलेडाँडा र स्थानीय मगर संस्कृतिका साथै खानपिनमा सहभागी हुन पाउँदा अत्यन्त उत्साहित भएको संघका अध्यक्ष रुपेश महर्जनले  बताए । साइकल यात्राका सहभागीहरुलाई पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सन्दीप राना, रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, आयोजक पाल्पा जिल्ला साइक्लिङ संघका अध्यक्ष रुपेश महर्जन लगायतले मेडल प्रदान गरेका थिए । ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई साइकल यात्रामार्फत देशविदेशमा चिनाउने उद्देश्यले राखेको तेस्रो संस्करणको हेरिटेज राइडले ग्रामीण पर्यटनलाई प्रवद्र्धन गरेको प्रतिनिधिसभा सदस्य रानाले बताए । उनले यस्ता कार्यक्रमले प्रचारको अभावमा ओझेलमा परेका गन्तव्यलाई देशविदेशका पर्यटकमाझ परिचित गराउनुका साथै स्थानीय पर्यटन व्यवसायलाई समेत चलायमान बनाउन सक्ने धारणा राखे ।  

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update