पाल्पा, तीन अग्रज स्रष्टाको योगदानको स्मरण गर्दै पाल्पा साहित्य समाजले आफ्नो ३२ औँ वार्षिकोत्सव मनाएको छ । समाजले पाल्पाली आदिकवि छविलाल नेपालको १७७ औँ, शास्त्रकवि माधवप्रसाद देवकोटाको १२३ औँ र नाटककार अम्बिकाप्रसाद लकोजूको १२५ औँ जन्मजयन्ती एकैसाथ मनाउँदै आफ्नो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा उनीहरूको साहित्यिक योगदानको चर्चा गरिएको थियो । वक्ताहरूले नेपाली साहित्यको विकासमा अग्रज स्रष्टाहरूले पुर्याएको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथिबुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले साहित्य समाजको बौद्धिक र सांस्कृतिक विकासको महत्वपूर्ण आधार भएको बताए । उनले पाल्पा साहित्य समाजले ऐतिहासिक स्रष्टाहरूको योगदानलाई जीवन्त राख्न खेलेको भूमिकाको प्रशंसा गर्दै तानसेन र पाल्पामा सञ्चालन हुने साहित्यिक तथा सिर्जनात्मक गतिविधिमा बुटवल उपमहानगरपालिकाको सहयोग र समर्थन रहने बताए ।
वार्षिकोत्सवका अवसरमा साहित्य तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कृत र सम्मान समेत गरिएको थियो । छविलाल नेपाल पाल्पाली प्रतिभा पुरस्कारबाट गोविन्द भट्टराई र भैरव तुलसीसिंह स्मृति पुरस्कारबाट मंगलप्रसाद बज्राचार्य पुरस्कृत भए । यस्तै, अथक रेग्मी साहित्य साधना पुरस्कार कोशलराज पौड्याल र राधा इन्द्रभारती समस्या सम्मान अम्बिका पौड्याललाई प्रदान गरिएको छ । त्यसैगरी गणेश केशव लक्ष्मी स्मृति स्रष्टा सम्मानबाट पुरुषोत्तम अर्याल, पाल्पा साहित्य समाज (पासास) सम्मान केदारलाल श्रेष्ठ, पूरणबहादुर शाक्य, अनुपमान सैंजू र चन्द्रकान्त न्यौपानेलाई प्रदान गरिएको समाजले जनाएको छ ।कार्यक्रममा पत्रकार भोजराज भट्टराई, साहित्यकार रामप्रसाद अर्याल तथा सम्मानित व्यक्तित्व अम्बिका पौड्याल र अनुपमान सैंजूले साहित्य समाजको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गरे । उनीहरूले अग्रज स्रष्टाको सम्मान र नयाँ प्रतिभाको प्रोत्साहनले साहित्यिक सिर्जनाको निरन्तरतामा टेवा पुग्ने बताए । विसं २०५१ मा स्थापना भएको पाल्पा साहित्य समाजले तीन दशकभन्दा लामो समयदेखि साहित्यिक गतिविधि, स्रष्टा सम्मान र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । वार्षिकोत्सवकै अवसरमा पुष्करराज रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरिएको छ । रेग्मीको अध्यक्षता,समाजका सदस्य रामजी शर्माको स्वागत, अस्तित्व रेग्मीको स्वागत गीत, सचिव सविता भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

