पदम न्यौपाने
तानसेन नगरपालिका हिजो सानो थियो तर पूनर्संरचना पश्चात ठूलो वा विस्तारित भएको छ । यसले विकासको सोंच, अवधारणा र कार्यक्रममा समेत फराकिलोपनको अपेक्षामा विस्तार समेत गरेको छ । गाउँबाट नगण्रमा स्तरोन्नती भए पश्चातका सम्वोधन गरिने क्षेत्रहरु पनि धेरै हुनुपर्छ भन्ने बुझाइको चाहाना पनि थपिएका हुन्छन् । यसै कारणले प्रश्न जिज्ञासाको मात्रा पनि बढेका हुन्छन् । भौगोलिक मात्र होइन विभिन्न श्रोतको अवसर थपिएको हुन्छ, विकास रणनीति फेरिएको हुन्छ ।
यही पृष्ठभूमिमा केही वर्षदेखि केही जिज्ञासाहरुले निरन्तरता पाइरहेका छन् । यस्ता जिज्ञासा नगरको पूँजि मानिन्छ । निरन्तर आउने जिज्ञासाले– के तानसेनको आर्थिक विकासको समग्र मोडल बनेको छ ? , के जनसंख्या, भूगोल, स्थानीय स्रोतसाधन र आर्थिक सम्भावनामा आधारित विकास योजना बनेका छन् ? यिनै जिज्ञासाका सन्दर्भमा नपाले विना आर्थिक सर्भेक्षण तयार पारेको आवधिक योजनाको आधारमा आफ्ना नीति तथा कार्यक्रमहरु तयार पारेको देखिन्छ । आवधिक योजनाको अध्ययन गर्दा– यो वैज्ञानिक देखिदैन, गहिरो अध्ययन वा अनुसन्धान वेगरको अन्दाजी दस्तावेज देखिन्छ, यसले नगरको दृष्टिकोण प्रष्ट पार्न सकेको छैन भने अपेक्षापुरा गर्न आम्दानी र लगानीमा नविन उपायहरुको खोजी पहिल्याउन पनि सकेको देखिदैन । तानसेन नगरको सन्तुलित विकास गर्ने हो भने बजारको सम्पदा, गाउँको उत्पादन र नगरको अर्थतन्त्रको गहिरो सम्वन्ध देखिनु पर्दछ । अहिले तानसेनलाई केवल विकास निर्माणमा मात्र होइन, आफ्नो आर्थिक भविष्य पुनःपरिभाषित गर्न आवश्यक पनि छ ।
विकासको नयाँ दृष्टिकोण : बजारकेन्द्रित होइन, नगरकेन्द्रित विकास
तानसेन नेपालको ऐतिहासिक, सांस्कृतिक र व्यापारिक पहिचान बोकेको पुरानो सहर हो । यसको पहिचान निर्माणमा नेवार समुदायको संस्कृति, वास्तुकला, परम्परागत व्यापार, धातुकला, ढाका उद्योग, जात्रा, पर्व र जीवनशैलीको महत्वपूर्ण योगदान छ । तानसेनको पुरानो बजार र यसले बोकेकोे सँस्कृति, पर्यटन पहिचानको प्रमुख आधार हो ।तर यहाँ एउटा महत्वपूर्ण प्रश्न छ– के तानसेनको विकास भनेको तानसेन बजारको विकास मात्र हो ? के नगरपालिकाको समृद्धि बजारका घर, पसल, सडक र पर्यटकको संख्याले मात्र मापन गर्न सकिन्छ ? तानसेन नगरपालिकाको विकासलाई समग्रतामा हेर्ने हो भने बजार र बजारबाहिरका बस्तीबीच आर्थिक, सामाजिक र पूर्वाधारगत अन्तरसम्बन्ध स्थापित गर्न आवश्यक छ । बजारले सेवा, व्यापार, पर्यटन र रोजगारी सिर्जना गर्नुपर्छ भने बजारबाहिरका क्षेत्रले कृषि, पशुपालन, वन, जलस्रोत, ग्रामीण पर्यटन र उत्पादनको आधार तयार गर्नुपर्छ । अथवा अबको मान्यता ग्रामीण विकासबाट शहरी विकासको मानकलाई स्थापित गर्न जरुरी छ । त्यसैले अब तानसेनले बजारकेन्द्रित विकासबाट नगरकेन्द्रित आर्थिक विकासको अवधारणातर्फ अघि बढ्नुपर्छ ।
तानसेनको जनसँख्या र भौगोलिक अवस्थाको विश्लेषण
राष्ट्रिय जनगणना २०७८ अनुसार तानसेन नगरपालिकाको जनसंख्या ५०,७९२ र घरधुरी १४,७८२ रहेको छ । वडागत जनसँख्या हेर्दा बजारको र ग्रामीण क्षेत्रको जनसंख्यामा ठूलो भिन्नता देखिन्छ । नगरपालिकाको ऐतिहासिक बजार क्षेत्र र बाहिरी बस्तीको भौगोलिक अवस्था, जनघनत्व, उत्पादन क्षमता र विकास आवश्यकता समान छैनन् । त्यसैले सबै वडामा एउटै प्रकारको विकास कार्यक्रम र समान बजेट विनियोजन गर्नु वैज्ञानिक पद्धति हुँदैन ।नगरपालिकाले प्रत्येक वडाको जनसंख्या, भूगोल, उपलब्ध जग्गा, प्राकृतिक स्रोत, सडक पहुँच, उत्पादन क्षमता र आर्थिक गतिविधिका आधारमा फरक–फरक विकास रणनीति बनाउनुपर्छ । बजार र ग्रामीण लक्षित विकास परियोजनाहरु फरक–फरक हुनु पर्दछ ।
सांस्कृतिक सम्पदा र नेवार समुदायको आर्थिक योगदान
तानसेन बजारको पहिचानमा नेवार समुदायको सांस्कृतिक पहिचानको योगदान विशिष्ट छ । यहाँका पुराना घर, मन्दिर, सत्तल, जात्रा, परम्परागत व्यापार, ढाका कपडा, करुवा तथा धातुकला र खानपानले तानसेनलाई अन्य सहरभन्दा फरक बनाएका छन् । जनगणनाको भाषा सम्बन्धी तथ्याङ्क अनुसार तानसेनमा नेपालभाषा (नेवारी) मातृभाषीको संख्या १,९७३ अर्थात् करिब ३.९ प्रतिशत छ । तर यहाँ बुझ्नुपर्ने महत्वपूर्ण पक्ष के हो भने कुनै समुदायको जनसङ्ख्या थोरै हुँदैमा त्यस समुदायको सांस्कृतिक मान्यता र सम्पदाको आर्थिक मूल्य कम आँकलन गर्न मिल्दैन । जस्तै, नेवारी समुदाय केन्द्रित वास्तुकला, परम्परागत खाना, जात्रा र करुवा निर्माण तानसेनको पर्यटन बजारमा बिक्रीयोग्य सांस्कृतिक उत्पादन बन्न सक्छन् । यी पक्षबाट नपाले सांस्कृतिक पर्यटनमार्फत स्थानीय आम्दानी वृद्धि गर्न सक्छ, स्थानीय उत्पादन र हस्तकलाको बजार विस्तारबाट र मौलिक संस्कृति र सम्पदाको संरक्षणसँगै रोजगारी सिर्जना गरी आर्थिक लाभ लिन सक्छ । यस अर्थमा नेवार संस्कृति केवल एउटा समुदायको पहिचान होइन, तानसेनको साझा सांस्कृतिक पुँजी र आर्थिक सम्भावना हो । यसको संरक्षण र व्यावसायिक उपयोगमा सबै समुदायको सहभागिता आवश्यक छ ।
बजारबाहिरका वडाको विकास किन अपरिहार्य छ ?
तानसेनको आर्थिक विकासलाई बजारको सीमाभित्रमात्र राखेर हेर्नु ठूलो कमजोरी हो । बजारबाहिरका वडाहरूमा कृषि, पशुपालन, वन, पानी, जमिन, प्राकृतिक दृश्य, ग्रामीण बस्ती र स्थानीय उत्पादनका विभिन्न सम्भावना छन् । यी स्रोतको सही पहिचान र परिचालन गर्न सके तानसेनको अर्थतन्त्रलाई नयाँ आकार सहितको गतिदिन सकिन्छ ।जस्तै यसकालागि कृषि तथा पशुपालनमा मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघापोखराथोक, बौघागुम्हा र अर्गली क्षेत्रको भौगोलिक तथा उत्पादन क्षमताअनुसार व्यावसायिक कृषि, तरकारी, फलफूल, कफी, दुग्ध उत्पादन,पशुपालन र कृषि पर्यटनलाई प्राथमिकता दिन सकिन्छ । यसैगरी कृषि प्रशोधन र बजारीकरणका लागि उत्पादन मात्र बढाएर हुँदैन । सङ्कलन केन्द्र, हाटवजार सञ्चालन, नवनिर्मित चिस्यान केन्द्रको व्यवस्थित सञ्चालन, प्याकेजिङ र बजार व्यवस्थापन गर्दै बजार क्षेत्रलाई ग्रामीण उत्पादनको मुख्य बिक्री केन्द्र बनाउन सकिन्छ । ग्रामीण तथा प्रकृति पर्यटनकालागि ग्रामीण पदमार्ग, होमस्टे, जैविक कृषि, वन पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोडेर पर्यटनको नयाँ सञ्जाल विकास गर्न सकिन्छ । कृषि उत्पादनमा आधारित साना उद्योग, खाद्य प्रशोधन, हस्तकला र स्थानीय वस्तुको ब्रान्डिङ गर्न सक्नु पर्दछ । यसरी बजारले सेवा र बजारको भूमिका निर्वाह गर्ने तथा बाहिरी वडाले उत्पादन र स्रोतको भूमिका निर्वाह गर्ने आर्थिक सम्बन्ध स्थापित गर्नुपर्छ ।पूर्वाधारलाइ समुन्नतीका आधार मान्ने पद्धती बसाएर बढी जनसङ्ख्या भएका वडालाई आवश्यक सेवा र पूर्वाधार उपलब्ध गराउन सहयोग गर्छ भने ठूलो क्षेत्रफल भएका तथा तुलनात्मक रूपमा पछाडि परेका वडालाई पनि न्यायोचित लगानीको अवसर दिन सक्नु पर्दछ । यसरी हेर्दा विकास योजनालाई निम्न तहमा विभाजन गर्न सकिन्छ । बजार क्षेत्रलाइ सम्पदा संरक्षण, पर्यटन, व्यापार, शिक्षा, स्वास्थ्य, व्यवस्थित यातायात र सेवा अर्थतन्त्रको रुपमा हेर्ने, अर्धसहरी क्षेत्रलाइ व्यवस्थित आवास, कृषि, साना उद्योग, बजार विस्तार र व्यावसायिक सेवाका दृष्टिले लिने, ग्रामीण क्षेत्रलाइ कृषि आधुनिकीकरण, पशुपालन, वन, जलस्रोत, ग्रामीण पर्यटन र स्थानीय उद्यमसंग जोड्दै प्रत्येक वडाको विशेषता र आवश्यकताअनुसार विकासको मोडल तयार गर्न सकिन्छ । उल्लेखित आधार तयगर्दा तानसेनको अर्थतन्त्र र GDP अध्ययन आवश्यक छ । किनकी कुनै पनि नगरपालिकाको विकास योजना निर्माण गर्नुअघि त्यस नगरपालिकाको अर्थतन्त्रको वास्तविक आकार, संरचना र उत्पादन क्षमताको अध्ययन हुनु आवश्यक हुन्छ । तानसेनले अहिले कति आर्थिक उत्पादन गरिरहेको छ ? कृषि क्षेत्रको योगदान कति छ ? व्यापार, पर्यटन, होटल, यातायात, शिक्षा, स्वास्थ्य र निर्माण क्षेत्रले कति आर्थिक गतिविधि सिर्जना गरिरहेका छन् ? स्थानीय रोजगारी कति छ ? कति रकम नगरभित्र उत्पादन हुन्छ र कति रकम बाहिरिन्छ ? बैंक वित्तिय संस्थासंग रहेको डिपोजिट र कर्जाको आकार र लगानी क्षेत्रका वारेमा जानकारी लिन जरुरी देखिन्छ । यी प्रश्नको तथ्यगत जवाफबिना बनाइने विकास योजना अनुमानमा आधारित हुन्छ । यसका लागि नपाले निम्न विषयमा आधारित अध्ययन आवश्यक छ । यस्ता अध्ययन कलेजहरुवाट नियमित गराउन सकिन्छ । यस्ता अध्ययनले नपाको विकासमा भूमिका खेल्छ । अध्ययनको उद्देश्य आर्थतन्त्रको आकार मात्र थाहा पाउनु होइन । यसको वास्तविक उद्देश्य कुन क्षेत्रमा लगानी गर्दा बढी रोजगारी र आम्दानी सिर्जना हुन्छ भन्ने पहिचान गर्न सकिन्छ । बजार र ग्रामीण क्षेत्रबीच उत्पादन तथा उपभोगको सम्बन्ध स्थापित गर्न सकिन्छ । नगरपालिकाले आफ्नो आर्थिक क्षमता र सम्भावनाका आधारमा पाँचवर्षे तथा दीर्घकालीन योजना बनाउन सक्छ । निजी क्षेत्रलाई कुन क्षेत्रमा लगानी गर्न उपयुक्त हुन्छ भन्ने रणनीति तयगर्न तथ्यगत आधार दिन सकिन्छ । नपाले लगानी गरीएका परियोजनाको आर्थिक विकासमा प्रभाव र उपलब्धि मापन गर्न सकिन्छ । यसर्थ यसका लागि नगरपालिकाले प्रत्येक वर्ष स्थानीय आर्थिक सर्वेक्षण गर्ने व्यवस्था गर्नुपर्छ । यसवाट तानसेनलाई एउटै आर्थिक प्रणालीमा जोडन मद्धत गर्दछ । अब तानसेनको पुरानो बजारलाइ ऐतिहासिक, सांस्कृतिक र व्यापारिक पहिचानलाई आर्थिक शक्तिमा रुपान्तरण गर्नु पर्दछ । बाहिरी वडालाइ कृषि, पशुपालन, वन, जलस्रोत, स्थानीय उत्पादन र ग्रामीण पर्यटनलाई आर्थिक समृद्धिको आधारमा जोड्ने लक्ष्य बनाउनु पर्दछ । यसका लागि नगरपालिकाले जनसङ्ख्या, भूगोल, प्राकृतिक स्रोत, उत्पादन क्षमता, आर्थिक गतिविधि र मानव संसाधनको एकीकृत अध्ययन गरी विकास योजना निर्माण गर्नुपर्छ । तानसेनले सडक, भवन र बजेट खर्चको विवरणमा मात्र विकासको सफलता खोज्ने परम्परागत मापनमा रमाउनु हुँदैन । नगरको कुल उत्पादन, नागरिकको आम्दानी, रोजगारी, स्थानीय लगानी, उद्यमशीलता र जीवनस्तरमा आएको परिवर्तनलाई विकासको मापदण्ड बनाउनुपर्छ ।
तानसेनको विकासको नयाँ सूत्र यस्तो हुनुपर्छ
सम्पदाबाट पहिचान, उत्पादनबाट आम्दानी, लगानीबाट रोजगारी र समावेशी विकासबाट समुन्नतिसहितको समृद्धिको लक्ष्य सहित नियमित अनुसन्धान गरिने व्यवस्था र पद्धतीको विकास गरिनु पर्दछ । यसकालागि , तानसेन नपाले आफ्नो आर्थिक प्रोफाइल तयार पार्ने, वार्ड स्तरिय श्रोत र उत्पादनको मापनको नक्सा तयार पार्ने र नगरपालिकाको स्थानीय कुल ग्राहस्थ उत्पादनको बेसलाइन अध्ययन गर्ने परिपाटी बसाउन सकेमा यस्ता अध्ययनबाट आगामी ५–१० वर्षको विकास लगानी,प्राथमिकता र उपलब्धि मापन गर्ने वैज्ञानिक आधार तयार गर्न सकिन्छ ।
अहिले नगरपालिकासंग के के छैन ?
बजार र बजारबाहिरको आर्थिक अन्तरसम्बन्ध स्पष्ट छैन । वार्षिक नीति तथा कार्यक्रममा बजार र ग्रामीण क्षेत्रको विकासको चर्चा छ, तर यी दुईबीचको आर्थिक सम्बन्ध कसरी स्थापित हुन्छ भन्ने पर्याप्त अनुसन्धनात्मक व्याख्या छैन । विकासको लक्ष्य र मापनयोग्य सूचक छैन । गाउँमा उत्पादन भएको तरकारी बजारमा कसरी पुग्छ भन्ने प्रस्ट व्याख्या छैन । ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध, फलफूल, खाद्यान्न र मासुको मूल्य शृङ्खला निर्माण वारे मौन देखिन्छ । बजारका होटल, रेस्टुरेन्ट र पसलले स्थानीय उत्पादन कति प्रयोग गर्छन भन्ने तथ्यगत विश्लेषण देखिदैन । ग्रामीण क्षेत्रको आम्दानी बजारमा परिचालित गर्ने रणनीतिको अभाव हुदा खाश प्रभाव गर्न सकिने अवस्था छैन । यसैगरी मुख्यत १४ वटै वडाको छुट्टाछुट्टै आर्थिक पहिचान नै छैन । सबैभन्दा ठूलो कमी नै यही हो । जवसम्म नगरपालिकाले प्रत्येक वडाको छुट्टाछुट्टै आर्थिक पहिचान हुने पद्धती निर्माण गर्दैन तव सम्म नपा परम्परागत प्रणाली भन्दा माथि उठेको वा विकास सोंच भएको आधार देख्न सकिदैन । विकासकालागि सहभागितात्मक विकास प्रणाली जरुरी हुन्छ । नपामा मानव श्रोत वा शक्तिको अवस्था कस्तोछ भन्ने अभिलेख जरुरी हुन्छ । प्राकृतिक स्रोत र भूगोलको आर्थिक मूल्याङ्कन जरुरी हुन्छ तर भौगोलिक बनोट आफैँमा आर्थिक सम्भावनाको आधार हो भन्ने बुझाइको अभावले विकास र समृद्धि सहितको समुन्नतीको आधार खोज्न सकेको देखिदैन । यसका लागि Natural Resource Mapping आवश्यक छ , तर यस तर्फ ध्यान गएको देखिदैन ।
निष्कर्ष,
तानसेनले विकासको परम्परागत परिभाषा बदल्न आवश्यक छ । तानसेनले विर्सन नहुने कुरा भनेको तानसेनको पुरानो बजार यसको पहिचान हो, तर १४ वटै वडा यसको आर्थिक शक्ति हुन् । बजारको संस्कृति र गाउँको उत्पादनलाई जोड्न सके मात्र तानसेनको समग्र समृद्धि सम्भव हुन्छ ।
अहिले तानसेनले सामना गरिरहेका वास्तविक समस्या, तत्कालीन प्राथमिकता र कार्यान्वयनको स्पष्ट मार्गचित्र अझै पर्याप्त रूपमा समेटेको छैन । पुरानो बजारको आर्थिक पुनर्जीवनकालागि विशेष रणनीति जरुरी छ । नगरपालिकाको आर्थिक क्षमता र लगानी रणनीति जरुरी छ ।
(लेखक तानसेन पर्यटन बोर्डका सदस्य र तानसेन सम्पदा संरक्षण समाजका अध्यक्ष हुन् ।)

