Shittalpati
भोटेकोशी बाढी : बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार

पाल्पा, भदौ १० गते भोटेकोशीमा आएको विनासकारी बाढीमा परेर बेपत्ता भएका  पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।  तीन सातासम्म पनि उनीहरुको अवस्थाबारे केही जानकारी आउन नसकेपछि निराश भएका आफन्तले कुशको शव बनाएर परम्परा अनुसार दाहसंस्कार गरेका हुन् ।

रिब्दीकोट गाउँपालिका–३ का विकास नेपाल, तिनाउ गाउँपालिका–२, झ्याङ्ला चिसापानीका ३४ वर्षीय रमेश थापा, तानसेन नगरपालिका–७, लामडाँडाकी ३५ वर्षीया निलम कार्की र तानसेन नगरपालिका–३, बसन्तपुर (कालीगण्डकी गाउँपालिका–३, वइघा, स्याङ्जा) का तिलबहादुर रानाको  परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । तानसेन– कैलाशनगर (रिब्दीकोट गाउँपालिका–३ ) का विकासको आइतबार परिवारले रिडीस्थित कालीगण्डकी नदीमा कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको छ । तीन हप्ता भन्दा बढी हुँदा समेत सम्पर्कमा नआएपछि हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको उनका आफन्त निलम गौतमले बताइन्  । विकास  रसुवास्थित एक हाड्रोपावरमा टिपर चालकको रुपमा कार्यरत थिए । २५ दिनसम्म कतैबाट सास र लास पाइने एकिन नभएपछि अन्तिम संस्कार गर्नु परेको गौतमले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । अन्तिम संस्कार गरिसकेपछि पनि परिवारलाई उनी फर्केर आउने मनमा सानो आशा भने बाँकी नै छ । यस्तै तिनाउका रमेशको पनि शनिबार बेपत्ता भएको २४ दिनपछि श्रीमती इञ्जला जीसी र ७५ वर्षीय बुबा जुद्धबहादुर थापालगायत परिवारले अन्तिम बिदाइ गरेका छन् ।  थापा परिवारले दोभान खोलाको बञ्चरे पहाड घाटमा हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको जनाएको छ । थापाका एक छोरा छन् । थापा रसुवास्थित लाङटाङ हाइड्रोपावरमा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत  थिए ।

खोजीका लागि चितवन, गैँडाकोट, गोरखा, कास्की, नुवाकोट, काठमाडौं पुगे पनि अतोपत्तो नभएको र कम्पनीले समेत पुष्टि गरेपछि काजकिरिया सुरु  गरिएको बुवा जुद्धबहादुर थापाले बताए । यस्तै भोटेकोशी बाढीमै बेपत्ता तानसेन लामडाँडाकी निलम लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर पदमा कार्यरत थिइन्  । उनको पनि कालीगण्डकी नदीमा कुशको शव बनाएर दाहसंस्कार गरिएको परिवारले जनाएको छ । उनको बुबा सूर्यबहादुर कार्की किरिया बसेका छन् । यस्तै तानसेन नगरपालिका–३, बसन्तपुर बस्दै आएका स्याङ्जाका रानाको पनि कुशको शव बनाई दाहसंस्कार गरिएको छ । उनी कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र, स्याङ्जाको बेलाटारीमा कार्यरत थिए । बाढीका कारण सम्पर्कविहीन भएका पाल्पाका ११ जना मध्ये नेपाल प्रहरीमा कार्यरत तानसेनका दीपेन्द्र विष्टको  मात्रै शव पहिचान भएको छ ।

सम्पर्कविहीन भएका रैनादेवी छहरा  गाउँपालिका –१ का सशस्त्र प्रहरी जवान आन बहादुर कुमाल, रिब्दीकोट –५ का कृष्णबहादुर बस्याल, बगनासकाली गाउँपालिका–५ का किशोर न्यौपाने क्षेत्री, निस्दी–३ का बोम बहादुर सोमै, रामपुरका –७ का रामु सुति र रामपुर –७ कै अमृत सुतिको परिवारले भने अझै आउने आशामा बसेका छन् । सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल निरन्तर गरिरहेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update