Shittalpati
नेपालीको दोस्रो ठूलो चाड तिहार सुरू, आज काग तिहार

पाल्पा, नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार शनिबारदेखि विधिवत् रुपमा सुरु भएको हो ।

यमपञ्चकको दोस्रो दिन आज काग तिहार हो । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । कागलाई यमदूतको रुपमा पनि पुज्ने चलन रही आएको छ । यमराजले मानिसको मृत्युपछि उसको कर्मका आधारमा सजाय दिने हुनाले कागले सहि सन्देश देओस् भन्ने हेतुले कागबली दिने चलन छ । अत्यन्त चलाख पक्षीका रुपमा रहेको कागलाई सन्देशको बाहक मानिन्छ । कागलाई मिठा मिठा खानेकुरा खान दिई पुजा गरेर काग तिहार मनाइने चलन छ । पौराणिक कथा अनुसार कागले सन्देशवाहकका रुपमा मानवजातिलाई सहयोग गरेको मान्यता अनुसार कागलाई पुज्ने गरिन्छ । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विभिन्न शब्दले जोड्ने गरिन्छ । खुसीयाली र उमङ्ग बोक्ने चाड तिहारमा देउसी भैलीको रमझम, घर–घरमा गरिने दीपावली, विभिन्न फुलको प्रयोग, विभिन्न पशुपंक्षीको पुजा एवं दाजुभाई तथा दिदी बहिनीको माया स्नेह यो चाडले झल्काउने गरेको छ । यसैगरी आजै धनवन्तरी जयन्ती पनि मनाइन्छ । यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । 
भाइटीकाको शुभसाइत ११ः०७ बजे 
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको हो । समितिका अनुसार यस वर्ष यमपञ्चकअन्तर्गतका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुने छन् । कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ । त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ । यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइनेछ । समितिले भाइटीकाको दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update