Shittalpati
गुल्मेली संगम पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा पन्त

पाल्पा, गुल्मी जिल्लाबाट विभिन्न पेसा, व्यवसाय, रोजगार तथा अध्ययनको सिलसिलामा पाल्पामा बसोवास गर्दै आएका गुल्मेलीहरूको साँझा संस्था गुल्मेली संगम पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । संगमको तानसेनमा भएको दोस्रो  अधिवेशनबाट डाँसुराम पन्तको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । 

यस अघि उपाध्यक्ष रहेका पन्तले संगममा सक्रियताका साथ काम गर्दै आएका कारण अध्यक्षको जिम्मेवारी दिइएको संगमले जनाएको छ । विगत लामो समयदेखि पाल्पामा रहेर जिल्लाको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका पन्त निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाका अध्यक्ष तथा न्यू होराइजन माध्यमिक विद्यालयका प्राचार्य समेत हुन् । अध्यक्षको जिम्मेवारी पाएसँगै उनले  पाल्पामा रहेका गुल्मेली आमा बुवा, दाजुभाई, दिदीबहीनीहरुलाई एकताबद्ध बनाई सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  अधिवेशनले संगमको उपाध्यक्षमा गंगाबहादुर खत्री, सचिवमा रामचन्द्र रायमाझी, सह–सचिवमा सुमित्रा कडेललाई सर्वसम्मत चयन गरेको छ । यस्तै सदस्यहरुमा गुणाखर खनाल, मोती खड्का, मिना थापा, बालकृष्ण ढकाल रहेका छन् ।

अधिवेशनको संगमका संस्थापक अध्यक्ष भेषराज सुवेदीले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सुवेदीले आफ्नो जन्मभूमि गुल्मी र कर्मभूमि पाल्पाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन संस्थाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । उनले विभिन्न स्थानमा रहेर पनि आफ्नो जन्मभूमि, भाषा, संस्कृति र पहिचानसँग जोडिइरहन यस्ता संस्थाले सहयोग पुर्‍याउने धारणा राखे । सुवेदीले संस्थालाई सबै गुल्मेलीको साझा थलोका रूपमा विकास गर्दै सामाजिक एकता, सहयोग र सहकार्यका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा संगमका सल्लाहकारहरु जगदीश भट्टराई, महेन्द्र पन्थी, विष्णु घर्ती भनभनेली, तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरी लगायतले संस्थाको उद्देश्य र मर्म अनुसार काम गर्न नयाँ नेतृत्वलाई आग्रह गरे ।

संगमका निवर्तमान अध्यक्ष पुण्य सुवेदीले आफ्नो कार्यकालमा संस्थालाई व्यवस्थित र सक्रिय बनाउने प्रयास गरिएको उल्लेख गरे । उनले गुल्मीबाट पाल्पा आएर बसोवास गर्नेहरूबीच आपसी चिनजान, भाइचारा र सहयोगको भावना विकास गर्न संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । सुवेदीले संस्थालाई यहाँसम्म ल्याइपुर्‍याउन सहयोग गर्ने सम्पूर्ण सदस्य, सल्लाहकार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी नेतृत्वले पनि संस्थाको उद्देश्य र गरिमालाई कायम राख्दै सामाजिक गतिविधिलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । साथै उनले नेतृत्व परिवर्तन हुनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै संस्थाको विकास र हितका लागि सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा  शुभ दिपावली, छडपर्व र नेपाल सम्वतको शुभकामना आदान–प्रदान समेत गरिएको थियो । अधिवेशनको उद्घाटन सत्र संस्थाका अध्यक्ष पुण्य सुवेदीको अध्यक्षता, उपाध्यक्ष डाँसुराम पन्तको स्वागत र सचिव गंगा बहादुर खत्रीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update