लुम्बिनी, विश्वशान्ति, मानव कल्याण तथा सम्पूर्ण प्राणी जगत्को सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा सातदिने विशेष धार्मिक पूजा सुरु भएको छ । महायानी बौद्ध परम्पराअनुसार आयोजना गरिएको उक्त विशेष पूजामा विभिन्न देशका बौद्ध धर्मावलम्बी, लामा गुरु तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको छ । लुम्बिनीको पश्चिम विहार क्षेत्रमा अवस्थित पाल थुब्तेन सेडुप लिङ विहार (हजार स्वर्ण बुद्ध टेम्बल) मा आइतबारदेखि पूजा प्रारम्भ भएको हो ।
सात दिनसम्म सञ्चालन हुने धार्मिक तथा आध्यात्मिक कार्यक्रम आगामी कार्तिक २१ गते सम्पन्न हुनेछ । सम्पूर्ण मानव समुदायसहित समस्त प्राणीहरूको रक्षा, हित, सुख, शान्ति र दीर्घायुको कामना गर्दै महायानी बौद्ध परम्पराअनुसार पूजा आयोजना गरिएको आयोजकले जनाएको छ । धार्मिक आस्था, करुणा, मैत्रीभाव र विश्वबन्धुत्वको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्वदेशी तथा विदेशी श्रद्धालुहरूको सहभागिता रहेको छ । पूजामा १२ विभिन्न मुलुकका करिब १५० जना विदेशी नागरिकसहित कुल ५५० जनाको सहभागिता रहेको छ । विभिन्न देशबाट आएका बौद्ध धर्मावलम्बीहरूको उपस्थितिले लुम्बिनीको अन्तर्राष्ट्रिय धार्मिक तथा आध्यात्मिक महत्त्वलाई थप उजागर गरेको छ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना भएको यस कार्यक्रमले विश्वभर शान्ति, सद्भाव र करुणाको सन्देश फैलाउन सहयोग पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा महायानी बौद्ध धर्मअन्तर्गत कानिङ सम्प्रदायका मूलगुरु छोक्यी न्यीमा रिन्पोछेले सहस्र बुद्धको अभिषेक तथा धार्मिक प्रवचन दिइरहेका छन् । उनको उपस्थितिमा सञ्चालन भइरहेको अभिषेक तथा प्रवचन कार्यक्रममा श्रद्धालुहरूले धार्मिक विधिअनुसार सहभागिता जनाइरहेका छन् ।
बुद्धका उपदेश, करुणा, अहिंसा, परोपकार र मानव कल्याणका विषयलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाइएको छ । यस धार्मिक कार्यक्रमलाई तिब्बती बौद्ध परम्पराको महत्वपूर्ण पर्व ‘ल्हाबाब दुछेन’ सँग जोडेर आयोजना गरिएको हो । बौद्ध धर्मावलम्बीहरूका लागि विशेष आध्यात्मिक महत्त्व बोकेको ल्हाबाब दुछेन भगवान् बुद्धको दिव्य जीवनसँग सम्बन्धित महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ । बौद्ध धार्मिक मान्यताअनुसार भगवान् गौतम बुद्धले आफ्नी माता तथा देवगणलाई धर्मोपदेश दिन देवताहरूको लोकमा पुगेका थिए । त्यहाँ धर्मदेशना सम्पन्न गरेपछि पुनः मानव लोक अर्थात् पृथ्वीमा अवतरण गरेको पवित्र घटनाको स्मरणमा यो पर्व मनाउने परम्परा छ ।
बुद्धको यस अवतरणलाई ज्ञान, करुणा र धर्मको महत्त्वसँग जोडेर व्याख्या गरिन्छ । विश्वभरका बौद्ध धर्मावलम्बीका लागि आस्थाको केन्द्रका रूपमा रहेको लुम्बिनीमा आयोजना भएको यस प्रकारको अन्तर्राष्ट्रिय धार्मिक कार्यक्रमले बुद्धको जन्मभूमिको पहिचानलाई थप सुदृढ बनाउने देखिन्छ । विभिन्न मुलुकका श्रद्धालुहरू एकै स्थानमा भेला भई विश्वशान्तिको कामना गर्नुले लुम्बिनीलाई धार्मिक आस्था मात्र नभई विश्व मानव समुदायबीच शान्ति, सहअस्तित्व र सद्भाव प्रवद्र्धन गर्ने साझा आध्यात्मिक थलोका रूपमा समेत स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । सात दिनसम्म सञ्चालन हुने पूजामार्फत विश्वमा व्याप्त अशान्ति, द्वन्द्व र मानवीय संकट अन्त्य भई सबै प्राणीले सुख, शान्ति र सुरक्षित जीवन प्राप्त गरून् भन्ने कामना गरिनेछ । बुद्धको जन्मभूमि लुम्बिनीबाट प्रवाह हुने शान्ति, अहिंसा र करुणाको सन्देशले विश्व समुदायलाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने अपेक्षासहित धार्मिक कार्यक्रम सञ्चालन भइरहेको छ ।


