Shittalpati
तिहारको खुसी खोज्दै पाल्पा आइपुगे राउटे

पाल्पा,  तिहारको रौनक सुरु हुँदै गर्दा लोपोन्मुख राउटे समुदायका पाँच सदस्य चाडपर्व मनाउने खर्च जुटाउन पाल्पा आइपुगेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू आफ्नै हातले निर्माण गरेका काठका सामग्री बिक्री गर्दै तिहारका लागि आवश्यक रकम जुटाउन यहाँ आइपुगेका हुन् ।

गाडीको यात्रा गरेर पाल्पा आइपुगेका उनीहरूको साथमा पिर्का, आरी, कोसीलगायत परम्परागत सीपबाट तयार पारिएका काठका सामग्री छन् । ती सामग्री बिक्री गरेर केही आम्दानी गर्ने र अपुग रकम स्थानीयसँग सहयोग मागेर जुटाउने उनीहरूको प्रयास छ । पुस्तौँदेखि अपनाउँदै आएको परम्परागत सीप र श्रमबाट तयार पारिएका काठका सामग्री बिक्री गरेर दैनिक गुजारा चलाउनुका साथै चाडपर्वका लागि खर्च जुटाउने गरेको समुदायका सदस्य बन्दवीर शाहीले बताए । “अब तिहार आइसक्यो, मिठो खानेकुरा पनि खानुपर्छ,” शाहीले भने, “हामीसँग पैसा हुँदैन । त्यसैले आफैँले बनाएका भाँडाकुँडा बेच्ने र सहयोग माग्ने गरेका छौँ ।” 

उनका अनुसार विगतमा जङ्गलका रुखबाट काठका ठेकी, कोसीलगायत सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्ने गरिएको थियो । तर अहिले जङ्गलमा रुख काट्न सहज नभएपछि परम्परागत पेसाबाट आम्दानी गर्न कठिन भएको छ । यसले गर्दा समुदायका सदस्यहरू आर्थिक आवश्यकताका लागि विभिन्न ठाउँमा पुगेर सहयोग संकलन गर्न बाध्य भएका छन् । “पहिले जङ्गलमा भएका रुख काटेर ठेकी, कोसी बनाएर बिक्री गथ्र्यौँ र आफ्नो खर्च चलाउँथ्यौँ । अहिले रुख काट्न पाइँदैन । त्यसैले हामीसँग पैसा हुँदैन र सहयोग उठाउन हिँड्नुपर्छ,” उनले भने ।  दसैँ पनि यसैगरी खर्च जुटाएर मनाएको बताउँदै शाहीले तिहारमा समुदायका सदस्यसँग रमाइलो गर्न र मिठोमसिनो खान केही रकम जुट्ने आशा व्यक्त गरे । उनका लागि पाल्पाको यात्रा केवल सामग्री बिक्री गर्ने अवसर मात्र नभई चाडपर्वको खुसी खोज्ने प्रयास पनि बनेको छ । तानसेन बजारमा काठका सामग्री बिक्री गरिरहेका राउटे सदस्यप्रति स्थानीयवासी तथा बजारमा आवतजावत गर्ने सर्वसाधारणको ध्यान तानिएको छ । उनीहरूले बनाएका परम्परागत सामग्री हेर्ने,  खरिद गर्ने र उनीहरुसँग तस्वीर खिचाउनेहरू पनि देखिएका छन् । आधुनिक सामग्रीको प्रयोग बढ्दै गए पनि राउटे समुदायले भने पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको काठका सामग्री निर्माण गर्ने सीपलाई जोगाइरहेका छन् । राउटे समुदायको जीवनशैली पछिल्लो समय उल्लेख्य रूपमा परिवर्तन हुँदै गएको छ । कुनै समय ‘पैसा छोए पाप लाग्छ’ भन्ने मान्यता राख्ने यो समुदाय अहिले नगद कारोबार गर्न थालेको छ । विगतमा अन्नसँग काठका सामग्री साटेर जीविकोपार्जन गर्ने उनीहरू अहिले विभिन्न जिल्ला पुगेर सामग्री बिक्री गर्ने, स्थानीय तह तथा सरकारी कार्यालयमा सहयोग माग्ने र समुदायको आवश्यकता पूरा गर्ने प्रयासमा छन् । 

तस्बिर खिच्न चाहनेहरूसँग समेत उनीहरुले रकम माग्ने गरेको पाइन्छ ।  राउटे समुदायको परम्परागत जीवनशैलीमा आएको परिवर्तनसँगै उनीहरूको जीविकोपार्जनका आधारसमेत कमजोर हुँदै गएका छन् । बाँदरको संख्या घट्दै जानु, सामुदायिक वनमा सहजै रुख काट्न नपाउनु तथा विभिन्न सङ्घसंस्थाको प्रभाव बढ्दै जानुलाई उनीहरूको परम्परागत पेसा प्रभावित हुनुका कारणका रूपमा लिइएको छ । परम्परागत सीप र श्रममा आधारित जीवनयापनबाट पर्याप्त आम्दानी हुन नसकेपछि उनीहरू पछिल्लो समय बाह्य सहयोगमा निर्भर हुन थालेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update