विपत्ति कहिल्यै सूचना दिएर आउँदैन । भूकम्प, बाढी, पहिरो, आगलागी, महामारीजस्ता प्राकृतिक तथा मानवीय विपत्तिले एकैछिनमा ठूलो जनधनको क्षति पुर्याउन सक्छन् । विपत्ति रोक्न सधैँ सम्भव नहोला, तर त्यसबाट हुने क्षति भने पूर्वतयारी र सचेतनाबाट धेरै हदसम्म कम गर्न सकिन्छ । त्यसैले विपत्ति आएपछि पछुताउनुको सट्टा आउनुअघि नै सचेत र तयार हुनु आजको आवश्यकता हो । भोटेकोशीको बाढीले दिएको घाउ अझै निको भएको छैन । उद्धार, राहत र पुनःस्थापनाको काम पूरा नहुँदै अर्को सम्भावित विपत्तिको संकेत देखिएको छ ।
मौसमविद्हरूले असोज ९ गतेदेखि मौसमी प्रणाली सक्रिय हुँदै ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने चेतावनी दिएका छन् । विशेषगरी शुक्रबार र शनिबार भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी आसपास विकसित न्यून चापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै नेपालतर्फ प्रभाव पार्न सक्ने देखिएको छ । यसका कारण कोशी, मधेस, बागमती, गण्डकीलगायतका प्रदेशमा वर्षाको गतिविधि बढ्न सक्ने अनुमान छ । कतिपय स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको चेतावनीसमेत दिइएको छ । पश्चिम नेपाल, विशेषगरी लुम्बिनी र सुदूरपश्चिममा यसअघि नै विपद्को जोखिम देखिएको अवस्थामा थप वर्षाले परिस्थिति जटिल बनाउन सक्ने चिन्ता स्वाभाविक छ । यस्तो अवस्थामा मौसमको पूर्वानुमानलाई केवल सूचना ठान्नु ठूलो भूल हुनेछ । यो राज्य संयन्त्र र नागरिक दुवैका लागि पूर्वतयारीको संकेत हो । सरकारले सम्भावित विपत्तिलाई ध्यानमा राखेर तयारी थालेको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । तर विपद् व्यवस्थापन सरकारको मात्र जिम्मेवारी होइन ।
स्थानीय तह, सुरक्षा निकाय, विद्यालय, सञ्चारमाध्यम, गैरसरकारी संस्था र आम नागरिक सबैको साझा दायित्व हो । विपत्तिपछि राहतमा खर्च गर्नुभन्दा विपत्ति हुन नदिन र सम्भावित क्षति घटाउन पूर्वतयारीमा ध्यान पु¥याउन आवश्यक छ । सानो बेवास्ताले भोलि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले विपत्तिको प्रतीक्षा गरेर बस्ने होइन, सम्भावित जोखिम पहिचान गरेर समयमै कदम चाल्नुपर्छ । सचेतना, पूर्वतयारी र सहकार्य नै विपत्तिसँग जुध्ने बलिया आधार हुन् । यसर्थ समय आएको छ विपत्ति आएपछि जाग्ने होइन, विपत्ति आउनुअघि नै जागौँ ।

