पाल्पा, भोटेकोशी बाढीबाट प्रभावितका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यहाँका स्थानीय तहले एक करोड ७१ लाख ३ सय १७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । रैनादेवी छहरा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका र तानसेन नगरपालिकाले बाढीपीडितका लागि राहतस्वरुप उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन् ।
भोटेकोशी क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि स्थानीय तह, संघसंस्था तथा विभिन्न क्षेत्रबाट राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम चलिरहेका बेला यहाँका स्थानीय तहले पनि पीडितको दुःखमा साथ दिने निर्णय गरेका हुन् । सबैभन्दा बढी रैनादेवी छहरा गाउँपालिकाले ३५ लाख ४४ हजार ३ सय ४५ रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । पालिकाले स्थानीय विपद् व्यवस्थापन कोषबाट दुई लाख ५० हजार, जनप्रतिनिधिहरुबाट दुई लाख ५ हजार ९ सय ५०, कर्मचारीहरुबाट ६ लाख ४८ हजार ८१, शिक्षकहरुबाट २४ लाख २५ हजार ३ सय १४ र तीज गीत कार्यक्रमलाई छुट्याएको १५ हजार बजेट कटौती गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरिएको अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए । विपद्का बेला मानवीय सहयोग र स्थानीय सरकारको सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै कार्यपालिकाले सहयोग गर्ने निर्णय गरेको उनले बताए । अध्यक्ष भट्टराईले भोटेकोशी बाढीले गरेको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको उल्लेख गरे । “विपद् जुनसुकै ठाउँमा आउन सक्छ ।
आज रसुवा, नुवाकोट लगायतका नागरिक समस्यामा हुनुहुन्छ, भोलि हामीमध्ये कोही पनि यस्तो विपद्को सामना गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले पीडितको दुःखमा स्थानीय सरकारको तर्फबाट ऐक्यबद्धता जनाउँदै ३५ लाख ४४ हजार ३ सय ४५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हौँ,” अध्यक्ष भट्टराईले भने । त्यस्तै, माथागढी गाउँपालिकाले ३४ लाख ४६ हजार रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ । उसले स्थानीय विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक प्रतिनिधिको तलबबाट उक्त राहत रकम सहयोग गर्ने भएको हो । तिनाउ गाउँपालिकाले ३२ लाख १४ हजार रुपैयाँ पठाउने निर्णय छ । स्थानीय विपद् व्यवस्थापन कोषबाट तीन लाख, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट २५ लाख १४ हजार र तीज कार्यक्रमको बजेट कटौती गरी ४ लाख राहत स्वरुप पठाउने निर्णय भएको पालिकाले जनाएको छ । यस्तै रिब्दीकोट गाउँपालिकाले ३१ लाख ५० हजार जम्मा गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख ५० हजारका साथै गाउँपालिकामा कार्यरत सबै जनप्रतिनिधि, कार्यालय तथा मातहत, स्वास्थ्यलगायत शिक्षक र कर्मचारीको मासिक तलबबाट रकम कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
यस्तै पूर्वखोला गाउँपालिकाले २९ लाख ७५ हजार ९ सय ७२, बगनासकाली गाउँपालिकाले दुई लाख ५० हजार, रामपुर नगरपालिकाले दुई लाख ५० हजार, रम्भा गाउँपालिकाले दुई लाख ५० हजार र निस्दी निस्दी गाउँपालिकाले एक लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । रामपुर नगरपालिकाले प्रत्येक वर्ष गर्दै आएको उपप्रमुख तीज विशेष कार्यक्रम स्थगित गरी उक्त कार्यक्रमका लागि विनियोजन गरेको बजेट बाढीपीडितलाई सहयोग गर्ने भएको हो । तानसेन नगरपालिकाले पनि जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको तलब तथा सुविधाबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । जनप्रतिनिधिको मासिक सुविधाको २५ प्रतिशत र कर्मचारीको सचिवस्तरीय निर्णय अनुसार तलवबाट कट्टा गरी रकम सहयोग गर्ने निर्णय भएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।



