हाम्रा संवाददाता
पाल्पा, यमपञ्चक अर्थात् तिहारको उल्लाससँगै आज घर–घरमा कुकुरको पूजा गरी कुकुर तिहार र धनधान्यकी देवी लक्ष्मीको आराधना गर्दै लक्ष्मीपूजा मनाइँदैछ । तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको हो ।
सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कुकुरलाई इमानदार, आज्ञाकारी र सुरक्षाको भरपर्दो साथीका रूपमा सम्मान गर्दै आज बिहानैदेखि घर–घरमा पूजा गर्ने, माला लगाइदिने तथा मीठा परिकार खुवाउने चलन छ । धार्मिक मान्यताअनुसार यमराजको द्वारपालका रूपमा रहेका श्याम र सबल नामका कुकुरलाई प्रसन्न पार्न कुकुर तिहार मनाउने गरिएको हो । कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिएमा यमलोकको यात्रा सहज हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद्हरु बताउँछन् । महाभारतमा धर्मराज युधिष्ठिरको स्वर्ग यात्रामा समेत कुकुरले साथ दिएको प्रसंगले यसको धार्मिक महत्वलाई थप उजागर गरेको छ ।
आजै ऐश्वर्य, धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पनि मनाइँदैछ । घर सफासुग्घर राखिएको स्थानमा मात्र लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वासअनुसार बिहानैदेखि घर, आँगन, झ्यालढोका, चोटाकोठा र वरपरका स्थान सरसफाइ गरी साँझ दीपावली गरेर लक्ष्मीको स्वागत गरिन्छ । आँगनदेखि मूलढोका हुँदै पूजा गर्ने कोठासम्म चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाउने तथा बाटोमा दियो बाल्ने परम्परा छ । साँझ विधिपूर्वक दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरी गरगहना, धन, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या तथा छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गर्ने र दक्षिणा दिने चलनसमेत छ । कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । धार्मिक मान्यताअनुसार यस दिन घरबाट धनसम्पत्ति बाहिर पठाउनु शुभ मानिँदैन । लक्ष्मीपूजाका अवसरमा घरका नारीले मध्यरातमा नाङ्लो ठटाउँदै अलक्ष्मीलाई भगाएर लक्ष्मी र धनधान्यको आगमनको कामना गर्ने शास्त्रीय परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यसैगरी आज नरक चतुर्दशीका धार्मिक विधिसमेत गरिन्छ । अरुणोदयकालमा तीर्थ, नदी तथा तलाउमा स्नान र तर्पण गरी यमदीप दक्षिण फर्काएर बगाउने परम्परा छ । यसरी बत्ती बगाउँदा मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ । यस विधिलाई नरके बगाउने भनिन्छ । यमपञ्चकका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ । यसले शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने आयुर्वेदिक मान्यता रहेको छ । कुकुरप्रति सम्मान, परिवारमा सुखसमृद्धिको कामना र घरआँगनमा दीप प्रज्ज्वलन गर्दै मनाइने तिहारले धार्मिक तथा सांस्कृतिक महत्वसँगै आपसी सद्भाव, प्रेम र सामाजिक एकताको सन्देशसमेत दिने गरेको छ ।


