Shittalpati
आज महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइँदै

पाल्पा, नेपाली साहित्यका युगपुरुष एवं महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ । यस अवसरमा साहित्यिक गोष्ठी, कविता वाचन, विचार विमर्श तथा देवकोटाको साहित्यिक योगदानको चर्चा गरिने  छ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्णऔंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौं डिल्लीबजारमा भएको थियो । 

नेपाली साहित्यको कविता, निबन्ध, नाटक र आख्यान विधामा अतुलनीय योगदान पुर्‍याएका देवकोटालाई नेपाली साहित्यका महान् प्रतिभाका रूपमा स्मरण गरिँदै आएको छ । देवकोटाले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनका सिर्जनामा मानवता, प्रकृतिप्रेम, सामाजिक चेतना, राष्ट्रिय भावना र मानवीय संवेदना सशक्त रूपमा अभिव्यक्त भएका छन् । देवकोटाका ‘मुनामदन’, ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’ र ‘पागल’ लगायतका कृतिहरू नेपाली साहित्यमा महत्वपूर्ण मानिन्छन् । विशेषगरी ‘मुनामदन’ खण्डकाव्यले नेपाली समाजको जनजीवन, प्रेम, विछोड, गरिबी र मानवीय संवेदनालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको समृद्ध माध्यमका रूपमा स्थापित गर्न देवकोटाले पुर्‍याएको योगदान अतुलनीय छ ।

छोटो समयमै कविता, निबन्ध, नाटक र महाकाव्यलगायत विभिन्न विधामा कलम चलाएका देवकोटाको साहित्यिक व्यक्तित्व आज पनि उत्तिकै सान्दर्भिक छ ।  नेपाली साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानका कारण देवकोटा नेपाली जनमानसमा सधैँ स्मरणीय छन् । उनको जन्मजयन्तीले नेपाली भाषा, साहित्य र सिर्जनात्मक लेखनप्रति नयाँ पुस्तालाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।  विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत देवकोटाले महत्वपूर्ण योगदान दिएका थिए । विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नू÷गराउनू र वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update