Shittalpati
आज विश्व औलो दिवस

पाल्पा, आज विश्व औलो दिवस विश्वभर विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त यो रोग विरुद्धको दिवस संसारभर हरेक वर्ष मनाइन्छ । यसबारे सचेतनाका लागि नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै औँलो दिवस मनाइँदै छ । यहाँ स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ–संस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरेर यो दिवसको बारेमा जानकारी फैलाउने गर्दछन् । यसबारे कतिपय विकासोन्मुख देशका नागरिकहरूमा चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको संख्या आशा गरे अनुरूप घट्न भने सकेको छैन ।

यसको रोकथाम गर्न समयमा खोप, आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्वपूर्ण मानिएको छ । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अतिमहत्वकांक्षी लक्ष्य लिएको छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको छ । 

नेपालमा विगत एक सय वर्षदेखि औलोको समस्या देखिँदै आएको जनाइएको छ । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । चिकित्सकका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो संक्रक्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । गर्मी र वर्षायाममा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update