पाल्पा, तानसेन होमस्टे समितिले सातौं साधारण सभा मनाएको छ । समितिले तानसेनमा एक औपचारिक कार्यक्रम गरी साधारण सभा मनाएको हो ।
सभाको तानसेन नगरपालिका –३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै उनले तानसेनको पर्यटन विकासमा होमस्टेको भूमिका महत्वपूर्ण रहेको बताए । आफ्नो वडामा सञ्चालित होमस्टे पर्यटनसम्बन्धी गतिविधिबारे विभिन्न कार्यक्रममा जानकारी गराउन पाउँदा आफू गौरवान्वित भएको उल्लेख गर्दै उनले संस्थालाई आवश्यक सहयोगका लागि वडा प्रतिबद्ध रहेको बताए । संस्थाका निवर्तमान अध्यक्ष मनमोहन श्रेष्ठले होमस्टे पर्यटनको थप विस्तारसँगै तानसेनमा पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए । उनले स्थानीय पर्यटनलाई बलियो बनाउन होमस्टे र अन्य पर्यटन व्यवसायबीचको सहकार्य आवश्यक रहेको बताए ।
तानसेन होमस्टेमा छैटौँपटक भ्रमण गरेका फ्रान्सेली पर्यटक जोरोमे डेजाङ्गलोइसले यहाँका स्थानीयको व्यवहार र आतिथ्यताको प्रशंसा गरे । तानसेनका नागरिक सहयोगी, दयालु र हँसिला रहेको बताउँदै उनले पर्यटकप्रतिको स्थानीयको आतिथ्य भावनाले आफूलाई प्रभावित बनाएको अनुभव सुनाए । संस्थाका अध्यक्ष धनिश्वर बस्यालले १६ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको होमस्टे अभियानले तानसेनमा पर्यटकको आगमन बढाउन र स्थानीय अर्थतन्त्र चलायमान बनाउन योगदान पुर्याएको बताए । उनले पर्यटकलाई प्रदान गरिने आतिथ्य सेवालाई थप परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।
सभामा संस्थाले गत वर्ष पर्यटन प्रवद्र्धनका क्षेत्रमा गरेका गतिविधिको समीक्षा गर्दै आगामी योजनासहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष मेघनाथ भण्डारी ‘कमल’ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा तानसेनको पर्यटन क्षेत्रमा योगदान पुर्याएका साथै तानसेन होमस्टे समितिको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै निवर्तमान अध्यक्ष मनमोहन श्रेष्ठलाई समितिले सम्मानपत्रले सम्मान समेत गरेको थियो ।
सभाले होमस्टे पर्यटनलाई थप व्यवस्थित र गुणस्तरीय बनाउँदै तानसेनलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आगामी दिनमा सेवा सुधार, पर्यटन प्रवद्र्धन र सहकार्यलाई प्राथमिकता दिने जनाएको छ । समितिका अध्यक्ष धनिश्वर बस्यालको अध्यक्षता,सचिव सुनिता श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।


