पदम न्यौपाने
पाल्पामा सबै भन्दा बढी सम्पदा रहेको क्षेत्र तानसेन नगरपालिका हो । यहाँ रहेका सम्पदा प्राचिनकाल देखी आधुनिक काल सम्मको इतिहास र संस्कृतिलाई प्रतिनिधित्व गर्दछन् । साथै तानसेनलाई जीवन्त सांस्कृतिक सम्पदाको शहर पनि भनिन्छ । विशेषगरी मध्यकालिन सहरी संरचना र सम्पदाहरुको प्रचुरताले गर्दा तानसेनलाई मध्ययूगिन शहरको रुपमा विश्वसम्पदा सूचिमा दर्ता गर्न सकिने सम्भावनालाई मध्यनजर राख्दै पुरातत्व विभागले तानसेन नगर पालिकाको ध्यानाकर्षण पनि गराएको छ । तानसेन नगर पालिकाको तानसेन पर्यटन वोर्डद्धारा तयार पारिएको तानसेन पर्यटन नीति समेतले जीवन्त सांस्कृतिक सम्पदाको शहरको रुपमा परिचयमा ल्याउने लक्ष्य समेत राखेको छ । तर निकै लामो समय सम्म तानसेन नगरपालिकाले यस महत्वपूर्ण पक्षमा ध्यान पुर्याउन नसकेका कारण कतिपय सम्पदाहरु र बजार संरचनामा समेत छेडखानी भएको देखिन्छ । गत वर्ष देखि तानसेनका सम्पदा संरक्षण गरी भावी पुस्ताका लागि हस्तान्तरण गर्ने उद्धेश्य सहित नागरिक स्तरमा सामाजिक संस्थाको रुपमा तानसेन सम्पदा संरक्षण समाजको गठन भई काम गर्न थालेको छ । सम्पदा संरक्षणमा समाजको ध्यानाकर्षण गराउँदै संरक्षण र सम्वद्र्धनमा नागरिक सहभागिता बढाउने पहल गरिरहेको छ । यसका विभिन्न रणनीतिक कार्य मध्ये पहिलो पटक सम्पदा साहित्यलाई अगाडि बढाउन हालैको बैठकद्धारा सम्पदा साहित्य उपसमिति गठन गरेको छ ।
सम्पदा साहित्य के हो ?
सम्पदा संरक्षणलाई सामान्यतः पुराना दरबार, मन्दिर, मूर्ति, स्मारक, पुरातात्विक स्थल तथा परम्पराको संरक्षणका रूपमा बुझिन्छ । तर सम्पदा केवल भौतिक संरचना मात्र होइन; त्यससँग जोडिएको इतिहास, स्मृति, कथा, भाषा, लोकज्ञान, कला, सीप, संस्कार र सामुदायिक जीवन पनि सम्पदाकै अभिन्न हिस्सा हुन् । यी सम्पदाको अर्थ, इतिहास र सामूहिक स्मृतिलाई साहित्यिक सिर्जनामार्फत अभिव्यक्त गर्ने अवधारणालाई यस उपसमितिले अंगिकार गर्ने छ । नेपालमा ‘सम्पदा साहित्य’ भड्ढे नाममा छुट्टै स्थापित साहित्यिक विधा निर्माण भइसकेको अवस्था देखिँदैन छैन । तर नेपालका ऐतिहासिक सहर, धार्मिक स्थल, लोकपरम्परा, जात्रा, वास्तुकला र मौखिक इतिहाससँग सम्बन्धित साहित्यि सिर्जनाहरू यस अवधारणाका आधार बड्ढ सक्छन् । सम्पदा कुनै समाजको अतितको अवशेष मात्र होइन; त्यो समाजको सामूहिक स्मृति र पहिचानको आधार हो । एउटा पुरानो भवनले वास्तुकलाको इतिहास बताउँछ, एउटा मन्दिरले धार्मिक तथा सांस्कृतिक निरन्तरता देखाउँछ, पुरानो बजारले व्यापारिक सम्बन्ध र सामाजिक जीवनको कथा सुनाउँछ, र लोकगीतले पुस्तौँदेखि हस्तान्तरण भएको सामूहिक अनुभव बोकेको हुन्छ । तर समयसँगै सम्पदाको भौतिक संरचना बाँचे पनि त्यससँग सम्बन्धित कथा हराउने खतरा हुन्छ । त्यसैले सम्पदा संरक्षणमा ‘संरचना बचाउने’ र ‘कथा बचाउने’ दुवै काम आवश्यक छन् भन्ने महशुस गरी यो समिति गठन गरिएको हो । साहित्यले इतिहासलाई तथ्यबाट अनुभूतिमा, स्थानलाई कथामा र संरचनालाई स्मृतिमा रूपान्तरण गर्न सक्छ । सम्पदा साहित्यले मूर्त सम्पदाको रुपमा रहेका दरबार, मन्दिर, किल्ला, पुराना घर, सडक, चोक, पोखरी, धारा, पाटी–पौवा, मूर्ति, शिलालेख आदिलाई साहित्यिक पक्षबाट चर्चामा ल्याउने छ । यसैगरी अमूर्त सम्पदाका रुपमा रहेका लोकगीत, लोककथा, भाषा, जात्रा, नृत्य, संस्कार, परम्परागत ज्ञान, सीप, खानपान, सामाजिक व्यवहार र सामुदायिक स्मृतिलाई ‘सम्पदाको वर्णन’ भन्दा ‘सम्पदाको अर्थ’ मा जनमासमा पु¥याउने छ । साहित्यले सम्पदालाई के दिन सक्छ ? भन्ने जिज्ञासा उठ्न सक्छ । सम्पदा संरक्षणको एउटा समस्या के हो भने कतिपय सम्पदा मानिसको दैनिक जीवनबाट टाढिँदै जान्छन् । संरक्षण गरिएको भवन हुन्छ, तर त्यसको कथा थाहा हुँदैन । संग्रहालय हुन्छ, तर त्यसमा मानिसको भावनात्मक सम्बन्ध कमजोर हुन्छ । यसर्थ साहित्यले यही दूरी कम गर्न पहल गर्नेछ । एउटा पुरानो घरलाई वास्तुकलाको नमुनाका रूपमा मात्र हेर्नुको सट्टा साहित्यले सोध्न सक्छ,यो घरमा को बस्थ्यो ? कसको जन्म भयो कुन र कति पुस्ताले यहाँ जीवन बितायो ? कुन सामाजिक घटना यहाँबाट गुज्रियो ? समयसँगै यसको भूमिका कसरी बदलियो ? यी प्रश्नले एउटा संरचनालाई जीवन्त सांस्कृतिक पात्र बनाउँछन् । यस अर्थमा साहित्यले सम्पदाको प्रचार मात्र होइन, सम्पदाको पुनःव्याख्या पनि हो ।
तानसेन सम्पदा साहित्यको उत्कृष्ठ प्रयोगशाला बनाउने लक्ष्य
यूनेश्कोको विश्व सम्पदा शहरको सम्भावित सूचिमा तानसेनलाई The Medieval Town of Tansen शीर्षकमा राखिएको छ । सांस्कृतिक वर्गमा यूनेश्कोको विवरणले तानसेनलाई पश्चिम नेपालको परम्परागत ऐतिहासिक सहरका रूपमा प्रस्तुत गर्दै यसको जीवित वास्तुकला, नेवारी वास्तुकला, मन्दिर, विहार तथा सेन कालसँग सम्बन्धित सम्पदाहरूको उल्लेख गर्छ । यसैगरी नेपाल पर्यटन बोर्डले पनि तानसेनको पुरानो बजारका ढुंगे सडक, परम्परागत नेवारी घर, श्रीनगर र रानीमहललाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरेको छ । सम्पदा साहित्य उपसमिति गठनको लक्ष्य पुरानो बजारको गल्ली, घरहरूको साहित्यिक अभिलेख समेट्ने, ढाका र करुवाको कथा बुन्ने,जात्रा र लोकसंस्कृतिको व्याख्या, तानसेनका तानसेनले सम्झनु पर्ने व्यक्तित्वहरुको प्रेरणा, रानीमहलको भित्रि कथा, रिडिको प्राचिन कथा, मुकुन्देश्वर महादेव र बंशगोपालको महिमा, नारायण र पाल्पा दरवारको आकर्षण, टक्सारको योगदान लगायत दर्जनौ सम्पदालाई साहित्यमा प्रवेश गराउने रहेको छ । यस साहित्यले केवल ‘हेर्ने’बाट ‘बुझ्ने’तर्फ लैजान सक्छ । यस साहित्यले पुराना दस्तावेज, शिलालेख, पुस्तक, परिवारका अभिलेख र मौखिक इतिहास संकलन, अभिलेखीकरण,फोटो, भिडियो, अडियो, नक्सा र डिजिटल अभिलेख निर्माण,साहित्यिक सिर्जनामा ढाल्ने छ । यसले कविता, कथा, निबन्ध, संस्मरण, यात्रा साहित्य र नाटक लेखनमा मद्धत गर्नेछ । सम्पदा साहित्यले पर्यटनसँग पनि जोड्ने छ । इस साहित्यले सम्पदा संरक्षणमा केवल “के जोगाउने?” भड्ढे मात्र नभइ “हामीले जोगाएको सम्पदाको कथा कसरी पुस्तौँसम्म सुनाउने?” भन्नेमा जोड दिनेछ । सम्पदा साहित्यका लागि बन्न सक्ने प्रमुख विषयहरुमा ऐतिहासिक सम्पदा(दरबार, किल्ला, पुराना बस्ती, स्मारक), धार्मिक सम्पदा,अमूर्त सांस्कृतिक सम्पदा (जात्रा, लाखे, लोकगीत, नृत्य, संस्कार), जीवित/शहरी सम्पदाका रुपमा रहेका(पुराना बजार, गल्ली, चौक, परम्परागत घर र बस्ती),प्राकृतिक सम्पदा, मानवीय सम्पदा(स्थानीय ज्ञान, सीप, भाषा, परम्परा र व्यक्तित्य) र सम्पदासँग जोडिएका कथा, स्मृति र इतिहास हुन सक्छन् ।
सम्पदा साहित्यको अर्थ
सम्पदा साहित्य कुनै एउटा निश्चित साहित्यि विधा मात्र होइन । यो साहित्यको विषय र दृष्टिकोणसँग सम्बन्धित अवधारणा पनि हो । कविता, कथा, निबन्ध, उपन्यास, यात्रा–संस्मरण, गजल, नाटक, जीवनी वा मौखिक आख्यान,जुनसुकै माध्यमबाट सम्पदाको इतिहास, संस्कृति, स्मृति र जीवनलाई अभिव्यक्त गर्न सकिन्छ । यो संरक्षण गर्ने सिर्जनात्मक माध्यम हो । इतिहासलाई मानवीय बनाउने साहित्य हो । इतिहास प्रायः मिति, घटना, राजा, युद्ध, शासन र राजनीतिक परिवर्तनको रूपमा लेखिन्छ । तर साहित्यले इतिहासलाई मानिसको अनुभूतिसँग जोड्छ । त्यसैले त भानात्मक बन्ने गर्दछ । यसरी साहित्यले इतिहासलाई तथ्यबाट अनुभूतिमा रूपान्तरण गर्न सहयोग गर्छ ।
सम्पदा साहित्य र स्थानीय पहिचान
आज विश्वभर स्थानीय पहिचानको महत्व बढ्दै गएको छ । मानिसहरू आफ्नो सहर, गाउँ, भाषा, संस्कृति र इतिहाससँग जोडिन चाहन्छन् । यस सन्दर्भमा सम्पदा साहित्यले स्थानीय पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । कुनै सहरको परिचय केवल सडक, भवन र जनसंख्याबाट मात्र बड्ढे होइन । त्यस सहरको कथा पनि हुन्छ । शहरको कथा इतिहास, संस्कृति, संघर्ष, सिर्जना र मानिसहरूको सामूहिक स्मृतिबाट बनेको हुन्छ । त्यसैले प्रत्येक ऐतिहासिक सहरको आफ्नै ‘साहित्यिक भूगोल’ हुन सक्छ । चौक, गल्ली, मन्दिर, पोखरी, धारा, बजार, पाटी, पौवा, दरबार र डाँडाहरू साहित्यका पात्र बड्ढ सक्छन् । यसरी एउटा ठाउँको भौगोलिक नक्सासँगै भावनात्मक र सांस्कृतिक नक्सा पनि निर्माण हुन्छ । जुन त्यो शहरको अमूल्य सम्पती हो । यिनै सम्पतिहरुवाट कथा जन्मिन सक्छ । कविता जन्मिन सक्छ । संस्मरण जन्मिन सक्छ । उपन्यासको पृष्ठभूमि बड्ढ सक्छ । त्यसैले तानसेनको सम्पदा संरक्षणको एउटा महत्वपूर्ण आधार भौतिक संरक्षणसँगै साहित्यिक अभिलेखीकरण पनि हुन सक्छ । मौखिक इतिहासको संरक्षण पनि हुन सक्छ । सम्पदाको ठूलो हिस्सा लिखित दस्तावेजमा हुँदैन । हजुरबा,हजुरआमाले सुनाएका कथा, स्थानीय कलाकारको सीप, पुराना बजारका व्यापारीका अनुभव, जात्रा र संस्कारसँग जोडिएका विश्वास तथा गाउँ–सहरका मौखिक इतिहास पनि महत्वपूर्ण सम्पदा हुन् । यस्ता कुरा समयमै अभिलेख गरिएनन् भने मानिससँगै हराउन सक्छन् । साहित्यले यस्ता मौखिक इतिहासलाई कथा, कविता, संस्मरण, अन्तर्वार्ता, लोककथा वा निबन्धका रूपमा सुरक्षित गर्न सक्छ । यस अर्थमा सम्पदा साहित्य ‘बिर्सिंदै गएको आवाजलाई लेखेर बचाउने प्रयास’ पनि हो ।
सम्पदा साहित्यको पर्यटनसँग सम्बन्ध
सम्पदा साहित्यको अर्को महत्वपूर्ण सम्भावना पर्यटनसँग जोडिन्छ । पर्यटकले कुनै स्थान हेर्न सक्छ; तर त्यस स्थानको कथा थाहा पाएपछि उसले त्यसलाई फरक ढंगले अनुभव गर्छ । एउटा पुरानो दरबार देख्नु एउटा अनुभव हो । तर त्यो दरबार कसले किन बनायो, त्यससँग कुन ऐतिहासिक घटना जोडिएको छ, त्यहाँका मानिसको जीवन कस्तो थियो भड्ढे कथा पढेर त्यहाँ पुग्नु अर्को अनुभव हो । त्यसैले कथा, कविता मार्फत पर्यटन अनुभव निर्माण गर्ने अवधारणामा सम्पदा साहित्य उपयोगी हुन सक्छ । स्थानीय कविता, कथा, पुस्तक, सम्पदा–पथका कथा, अडियो गाइड, डिजिटल अभिलेख र साहित्यिक यात्राले पर्यटनलाई अझ अर्थपूर्ण बनाउन सक्छन् ।
निष्कर्ष :
सम्पदा साहित्य मूलतः सम्पदा, स्मृति, मानिस र भविष्यबीचको सेतु हो । यसले पुरानो भवनलाई कथा दिन्छ, इतिहासलाई मानवीय बनाउँछ, स्थानीय पहिचानलाई शब्द दिन्छ र नयाँ पुस्तालाई आफ्नो ठाउँसँग परिचित गराउँछ । आज धेरै सम्पदा भौतिक रूपमा बाँचेका छन्, तर तिनका कथा हराउँदै छन् । कतिपय ठाउँमा भवन बाँकी छन्, इतिहास छैन; परम्परा बाँकी छ, त्यसको अर्थ हराउँदैछ बजार बाँकी छ, तर त्यसको पुरानो जीवनको स्मृति हराउँदैछ । हामीले सम्पदा जोगाउने हो भने ढुंगा, इँटा र काठ मात्र होइन, त्यसससँग जोडिएका कथा पनि जोगाउनुपर्छ । इतिहासको दस्तावेजसँगै मानिसको स्मृति जोगाउनुपर्छ । पुरानो सहरको संरचनासँगै त्यसको आत्मा जोगाउनुपर्छ । त्यसैैले सम्पदा साहित्यलाई केवल साहित्यको एउटा नयाँ नामका रूपमा होइन, समाजको स्मृति, स्थानीय पहिचान र सांस्कृतिक निरन्तरता जोगाउने सिर्जनात्मक अभियानका रूपमा लिनु पर्दछ । सम्पदा बाँच्न भवन मात्र पर्याप्त हुँदैन; त्यसको कथा पनि बाँच्नुपर्छ र कथा बचाउने सबैभन्दा शक्तिशाली माध्यम मध्ये एउटा साहित्य हो । आऔं अब हरेक साहित्यिक कार्यक्रममा सम्पदाको चर्चा गर्न थालौं, सम्पदाको चर्चामात्र गर्ने सम्पदा साहित्य सम्मेलन गरौं । सम्पदा हाम्रा साझा सम्पती हुन्, भविष्यको लागि पूँजि हुन् । अस्तु
(लेखक तानसेन सम्पदा संरक्षण समाजका अध्यक्ष समेत हुन् । )

