Shittalpati
यम्घामा एभोकाडो खेती र समृद्धिको सम्भावना

धनिश्वर बश्याल

कुनै पनि विषयको चर्चा गर्दा त्यसको सुरुवात र मूल जरो बिर्सनु हुँदैन । आज बगनासकाली गाउँपालिका–६, यम्घामा धेरै कृषकले उत्साहपूर्वक एभोकाडोको खेती तथा उत्पादन गरिरहेका छन् । स्वास्थ्य र पोषणका दृष्टिले महत्वपूर्ण मानिने एभोकाडो अहिले यम्घाको पहिचान बन्दै गएको छ । तर, यम्घामा एभोकाडो भित्र्याउने सुरुवाती प्रयास कसले गरेका थिए भन्ने इतिहास सम्झिँदा ईश्वरीप्रसाद बश्यालको नाम अग्रपंक्तिमा आउँछ ।

ईश्वरीप्रसाद बश्यालको जीवन आफैंमा संघर्ष, मेहनत र प्रेरणाको कथा हो । सानै उमेरमा बुवाको मायाबाट टाढिनुपरेका उनी परिवारका जेठा छोरा भएकाले बाल्यकालदेखि नै जिम्मेवारीको भारी बोकेर अघि बढे । परिवारको आवश्यकता पूरा गर्ने क्रममा रोजगारीको सिलसिलामा उनले भारतको इलाहाबाद र मुम्बईदेखि दुबई हुँदै युगान्डासम्मको यात्रा गरे । विदेशमा गरेको मेहनतबाट आर्जित आम्दानीले उनले आफ्ना भाइबहिनीको शिक्षादीक्षा, विवाहलगायत पारिवारिक जिम्मेवारी पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । अहिले उनी रुपन्देहीमा आफ्नो परिवारसहित व्यवस्थित जीवन बिताइरहेका छन् । जीवनमा आइपरेका कठिनाइलाई अवसरमा बदल्दै निरन्तर मेहनत गर्ने उनको स्वभावले उनलाई परिवार मात्र होइन, समाजकै लागि प्रेरणाको स्रोत बनाएको छ । उनको संघर्ष र प्रेरणाको प्रभाव परिवारका अन्य सदस्यमा पनि देखिन्छ । दिदी ताराकला (लक्ष्मी) न्यौपाने आफ्ना श्रीमान्, दुई छोरा तथा बुहारीसहित बेलायतको बर्मिङ्घममा व्यवस्थित जीवन बिताइरहेकी छन् । बहिनी कमला पाण्डेको परिवार पोखरामा स्थापित छ भने अर्की बहिनी राधा पाण्डेयले अधिकृतस्तरको सेवामा रहेर आफ्नो परिवारसहित जीवन अघि बढाइरहेकी छन् । भाइ धनपति बश्याल भारतको राजस्थानमा सरकारी सेवामा स्थायी भूमिकामा कार्यरत छन् । कान्छा भाइको परिवार जापानमा छ भने ईश्वरीप्रसादका जेठा छोरा बेलायतमा र छोरी–ज्वाइँ पनि रोजगारीका सिलसिलामा बेलायतमै रहेका छन् । यसरी हेर्दा ईश्वरीप्रसादको जीवन केवल व्यक्तिगत सफलताको कथा होइन, जिम्मेवारी, परिश्रम र परिवारप्रतिको समर्पणको उदाहरण पनि हो ।

युगान्डाबाट ल्याइएका दुई फलले बदलेको यम्घाको कथा

आज यम्घामा देखिने एभोकाडो खेतीको जरो खोज्दै जाँदा करिब २१ वर्षअघिको एउटा सानो प्रयाससम्म पुग्न सकिन्छ ।

युगान्डामा रहँदा ईश्वरीप्रसादले त्यहाँको राम्रो जातको एभोकाडोका दुईवटा फल नेपाल ल्याए । उद्देश्य थियो—आफूले चाखेको नयाँ फल घरपरिवार र छिमेकीलाई पनि चखाउने । घर फर्किएपछि उनले ती फल छिमेकी साथीहरूलाई स्वाद चखाए । फल खाइसकेपछि एउटा बिउ आफ्नै घरमा र अर्को बिउ छिमेकीको घरमा रोपियो । ती दुई बिउबाट हुर्किएका बिरुवाले केही वर्षपछि फल दिन थाले । सुरुवाती दिनमा एभोकाडोको स्वाद, पोषण र व्यावसायिक महत्वबारे धेरैलाई जानकारी थिएन् । त्यसैले यसको खासै महत्व बुझिएन । तर, यसको विशेषता बुझ्नेहरूले बिरुवाका बिरुवा लैजान थाले । विस्तारै यम्घाका घर–घरमा एभोकाडोका बिरुवा फैलिँदै गए ।

आज त्यही दुईवटा फलबाट सुरु भएको यात्रा बगनासकाली–६ यम्घाका करिब सय घरपरिवार आसपासमा पुगेको छ । धेरै घरमा एभोकाडोका बिरुवा हुर्किरहेका छन् र फल उत्पादन हुन थालेको छ ।

एक किलोसम्मका फल, बजारतर्फ बढ्दै उत्पादन

यम्घामा हुर्किएका एभोकाडोका फल राम्रो जातका, स्वादिला र आकर्षक आकारका रहेको कृषकहरूको अनुभव छ । केही फलको तौल एक किलोग्रामसम्म पुगेको पाइन्छ । यस वर्षदेखि यम्घाबाट मात्रै करिब ५ देखि ७ क्विन्टलसम्म एभोकाडो बजारमा पुग्न थालेको बताइन्छ । उत्पादन बढ्दै जाँदा यसले स्थानीय कृषकलाई आयआर्जनको नयाँ अवसरसमेत प्रदान गर्न थालेको छ । अझ रोचक कुरा के छ भने यम्घामा आउने पाहुनालाई एभोकाडोबाट बनेको फलाहार तथा कोसेली दिने चलन पनि विकसित हुँदै गएको छ । पाहुनालाई दिइएको एभोकाडोको बिउबाट छिमेकी गाउँहरूमा समेत बिरुवा हुर्किन थालेका छन् । यसले एउटा व्यक्तिले सुरु गरेको सानो प्रयास कसरी गाउँ हुँदै आसपासका क्षेत्रमा फैलिन सक्छ भन्ने सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।

दुईवटा बिउबाट सुरु भएको यात्रा

आज यम्घाका घर–घरमा देखिने एभोकाडोका बिरुवालाई हेर्दा २१ वर्षअघि रोपिएका ती दुईवटा बिउ सम्झना आउँछन् । एउटा व्यक्तिको जिज्ञासा, नयाँ फल चखाउने सानो चाहना र दुईवटा बिउ रोप्ने सामान्य प्रयासले आज एउटा गाउँको कृषि पहिचान निर्माण गर्ने आधार तयार गरेको छ । त्यसैले यम्घामा एभोकाडोको इतिहास लेख्दा यसको सुरुवाती प्रयास गर्ने ईश्वरीप्रसाद बश्याललाई सम्झनु केवल एक व्यक्तिलाई सम्झनु मात्र होइन; एउटा सानो सोचले कसरी गाउँको कृषि भविष्यमा ठूलो सम्भावनाको बीउ रोप्न सक्छ भन्ने प्रेरणादायी कथा सम्झनु पनि हो ।

‘सुपरफुड’को सम्भावना र यम्घाको भविष्य

पोषणका दृष्टिले महत्वपूर्ण मानिने एभोकाडोको माग पछिल्ला वर्षमा बढ्दो छ । यही सम्भावनालाई ध्यानमा राखेर यम्घामा भइरहेको खेतीलाई अब व्यवस्थित र व्यावसायिक बनाउन आवश्यक देखिन्छ । यम्घामा एवोकाडो भित्र्याउने प्रारम्भिक योगदानका लागि ईश्वरीप्रसाद बश्याल धन्यवादका पात्र छन् । दुईवटा फलबाट सुरु भएको उनको प्रयास आज सयौँ बिरुवामा विस्तार हुनु आफैंमा प्रशंसनीय उपलब्धि हो । अब यसलाई व्यक्तिगत प्रयासमा मात्र सीमित नराखी स्थानीय सरकार, कृषि विज्ञ, कृषक र सरोकारवाला निकायबीच सहकार्य आवश्यक छ । स्थानीय सरकारले कृषि विज्ञसहित यम्घा क्षेत्रमा एभोकाडो खेतीको व्यावसायिक सम्भावनाबारे अध्ययन गर्न सकेमा कृषकलाई थप उत्साह मिल्नेछ । साथै उन्नत जातको बिरुवा, प्राविधिक परामर्श, रोग–कीरा व्यवस्थापन, उत्पादन तथा बजार व्यवस्थापनसम्बन्धी ज्ञान र आवश्यक सहयोग उपलब्ध गराउन सकेमा यसको भविष्य अझ उज्ज्वल बन्न सक्छ ।

उचित योजना, प्राविधिक सहयोग र बजारको सुनिश्चितता हुन सके यम्घा तथा आसपासको क्षेत्र भविष्यमा एभोकाडो तथा अन्य फलफूलको पकेट क्षेत्रका रूपमा विकास हुन सक्ने सम्भावना छ । यसले कृषकको आम्दानी बढाउने मात्र होइन, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, गाउँमै रोजगारी र उद्यमशीलताको वातावरण सिर्जना गर्ने तथा नगदेबालीप्रतिको आकर्षण बढाउने आधारसमेत तयार गर्न सक्छ ।

(लेखक तानसेन होमस्टे समितिका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update