Shittalpati
पाल्पामा दुई वर्षे इङ्लिश एक्सेस कार्यक्रमका ३८ विद्यार्थी दीक्षित

तानसेन, नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको आयोजनामा सञ्चालित दुई वर्षे ‘इङ्लिश एक्सेस माइक्रो स्कलरशिप कार्यक्रम’ अन्तर्गत ३८ जना विद्यार्थी दीक्षित भएका छन् । विद्यार्थीहरूको ग्राजुएशन कार्यक्रम  तानसेनमा भएको हो ।

क्षेत्रीय अंग्रेजी भाषा कार्यालय अमेरिकी राजदूतावास काठमाडौं (रीलो काठमाडौं) र नेल्टा केन्द्रीय कार्यालय काठमाडौंको सहयोगमा सञ्चालित कार्यक्रममा विद्यार्थीहरूले दैनिक दुई घण्टाका दरले साप्ताहिक आठ घण्टा अंग्रेजी भाषा अध्ययन गरेका थिए । भाषा शिक्षणसँगै सामाजिक कार्य, अवलोकन भ्रमण, अन्तरक्रियात्मक क्याम्पलगायतका गतिविधिमार्फत विद्यार्थीलाई अंग्रेजी भाषासँगै नेपाल र अमेरिकाका सांस्कृतिक तथा सामाजिक पक्षबारे जानकारी दिइएको थियो । कार्यक्रमबाट सञ्चार सीप, नेतृत्व क्षमता, सहकार्य तथा अन्य २१औँ शताब्दीका आवश्यक सीप विकास गर्न सहयोग पुगेको सहभागी विद्यार्थीहरूले बताएका छन् ।

समापन कार्यक्रममा रीलो काठमाडौंका प्रमुख डेभिड फेले विद्यार्थीहरूको सक्रियता र विभिन्न गतिविधिको प्रशंसा गर्दै विश्वका विविध संस्कृतिबारे जानकारी गराउँदै भविष्यका लागि सक्षम नागरिक निर्माण गर्न अमेरिकी सरकारले कार्यक्रममार्फत सहयोग गर्दै आएको बताए । नेल्टा केन्द्रीय कोषाध्यक्ष डा. गंगालक्ष्मी भण्डारीले नेल्टा र रीलोको सहकार्यमा सञ्चालित एक्सेस कार्यक्रमबाट हालसम्म १ हजार ७ सय विद्यार्थी दीक्षित भइसकेको जानकारी दिइन् । उाले यस वर्ष मात्रै २ सय विद्यार्थी दीक्षित हुने बताइन् । नेल्टा एक्सेस कार्यक्रम संयोजक सुदिप न्यौपानेले हालसम्म २२ जिल्लाका ४४ स्थानमा एक्सेस कार्यक्रम सञ्चालन भइसकेको जानकारी दिँदै सन् २०२७ देखि पाल्पासहित पाँच जिल्लामा कार्यक्रम सञ्चालन गरिने बताए । नेल्टा लुम्बिनी प्रदेश समिति अध्यक्ष गोपालप्रसाद वश्यालले एक्सेस कक्षामा देखिएको विद्यार्थीहरूको सिकाइप्रतिको तत्परता र उत्साहलाई आजीवन कायम राख्न आग्रह गरे । एक्सेस शिक्षक मीरा ज्ञवालीले विद्यार्थीहरूको सिकाइप्रतिको रुचिको प्रशंसा गर्दै सफलताको शुभकामना दिइन् ।

जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा अभिभावक रामजी पोखरेलले कार्यक्रम प्रभावकारी रहेको बताउँदै आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद दिए । कार्यक्रममा सहभागी जनता माध्यमिक विद्यालयका छात्र इतिहास वलीले एक्सेस कार्यक्रमबाट अंग्रेजी भाषिक सीपसँगै विभिन्न सामाजिक सीपको समेत विकास भएको अनुभव सुनाए । कार्यक्रममा रीलो काठमाडौंका प्रमुख डेभिड फे, नेल्टा केन्द्रीय कोषाध्यक्ष डा. भण्डारी, नेल्टा लुम्बिनी प्रदेश अध्यक्ष वश्याल, रीलो विशेषज्ञ विश्वराज गौतम, नेल्टा पाल्पाका अध्यक्ष कमलराज वश्याल, जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामजी पोखरेल तथा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका  थिए । तानसेनस्थित जनता माध्यमिक विद्यालयमा सञ्चालित एक्सेस कार्यक्रममा शिक्षकहरू गोपाल ढुंगाना, मीरा ज्ञवाली, विनोद भट्टराई र सीता रास्कोटीले कक्षा सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update