Shittalpati
होटलदेखि घरसम्म जुवाको अखडा

पाल्पा, नेपाली समाजमा चाडपर्व तथा मनोरञ्जनका नाममा खेलिने जुवातास पछिल्लो समय सामाजिक विकृतिका रूपमा फैलिँदै गएको छ ।  अहिले होटलका कोठादेखि निजी घरसम्म जुवातास खेल्ने गतिविधि फैलिएको पाइएको छ । आर्थिक लाभको लोभमा खेलिने यस्तो गैरकानुनी गतिविधिले समाजमा विकृति बढाउनुका साथै पारिवारिक र आर्थिक समस्या निम्त्याउने जोखिमसमेत बढाएको छ ।

शनिबार एकै दिन कैलाली, दाङ र झापाका विभिन्न होटल र निजी घरमा प्रहरीले छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ परेका छन् । । प्रहरीले ६ लाख ६२ हजार ७ सय ७५ रुपैयाँ नगद र आठ बुक ताससमेत बरामद गरेको छ । प्रहरीले गरेको कारबाहीले जुवातास खेल्ने गतिविधि सार्वजनिक स्थानमा मात्र नभई निजी आवास र होटललाई समेत केन्द्र बनाएर सञ्चालन भइरहेको देखाएको छ । एउटै रातमा तीन जिल्लाका चार स्थानबाट ठूलो संख्यामा मानिस पक्राउ पर्नुले यस्ता गतिविधिमाथि निगरानी र नियन्त्रणको आवश्यकता पनि उजागर गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित सैनिक होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका–२ का ४७ वर्षीय नमराज विष्टसहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले घटनास्थलबाट ६० हजार १ सय ७५ रुपैयाँ नगद र एक बुक तास बरामद गरेको छ । दाङमा भने निजी घरमै जुवातास खेल्ने गतिविधि भइरहेको अवस्थामा दुई छुट्टाछुट्टै स्थानबाट १७ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१५ जानकी टोलस्थित ६८ वर्षीय भुपबहादुर डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा डाँगीसहित आठ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनीहरूको साथबाट एक लाख ४ हजार ५ सय ८० रुपैयाँ नगद र तीन बुक तास बरामद गरेको छ ।

त्यसैगरी, घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित ४७ वर्षीय बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकीसहित नौ जना पक्राउ परेका छन् । प्रहरी कारबाहीमा उक्त स्थानबाट चार लाख ८ हजार १ सय २० रुपैयाँ नगद र तीन बुक तास बरामद भएको छ । चारवटा घटनामध्ये सबैभन्दा बढी रकम यही स्थानबाट बरामद भएको प्रहरीले जनाएको छ । यस्तै, झापाको बिर्तामोड नगरपालिका–४ उर्बर्सी टोलस्थित होटल अम्रेलामा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले सूर्योदय नगरपालिका–१० का ४४ वर्षीय निर्मल श्रेष्ठसहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त होटलबाट ८९ हजार ९ सय रुपैयाँ नगद र एक बुक तास बरामद गरेको छ । चारवटै घटनामा पक्राउ परेका ३१ जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update