पाल्पा, छठ अन्तर्गत आज चौथो दिन व्रतालुले बिहानीपख उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गर्दै छन्। चार दिनसम्म मनाइने छठ सूर्यको पूजा आराधनासँगै गाईको दूधसहितको अघ्र्य दिएपछि समापन गर्न लागिएको हो ।
मूलविधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्व समापन गरिने परम्परा छ । सप्तमीका दिन व्रतालुले बिहानीपख उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेपछि प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ । छठ पूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अघ्र्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसवा, किसानबाट उत्पादित अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु, सुन्तला, स्याउ, सुन्तला लगायतका फलफूल पनि चढाउने गरिन्छ । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए । शनिबार अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अघ्र्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गर्न लागेका हुन् ।
छठ पर्वको व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने र सन्तान सुख प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी, कुवा, ईनार तथा जलाशयहरु सिंगारिएको थियो । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने महत्वपूर्ण पर्वको रुपमा छठलाई लिइन्छ । तराई मधेशको मुख्य पर्वहरुमध्ये मिथिला, थारु तथा भोजपुरीनी महिलाहरुको विशेष कठोरताको पर्वको रुपमा रहेको छ । सरकारले छठ पर्वको अवसरमा आज सोमबार पनि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा हुने जानकारी गराएको थियो । यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले थप एक दिन बिदा दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक परम्परालाई मध्यनजर गर्दै कात्तिक ३० गते पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ । यस निर्णयसँगै छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार र ३० गते सोमबार गरी लगातार दुई दिन सार्वजनिक बिदा भएको छ ।


