Shittalpati
आजदेखि वर्षाको सम्भावना,धान जोगाउन किसानलाई आग्रह

पाल्पा,पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको नेपाल मौसम विभागले जनाएको छ  ती क्षेत्रमा मध्यमसम्म वर्षा र हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।

विभागकी मौसमविद् बिनु महर्जनले पश्चिमी वायुको प्रभावले आइतबार वर्षाको सम्भावना देखिएको बताइन् । “पश्चिमी वायुको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । ती क्षेत्रमा मध्यमसम्म वर्षा हुन सक्छ,” महर्जनले भनिन्, “तराईका अधिकांश क्षेत्रमा भने वर्षाको सम्भावना छैन । ” सुदूरपश्चिमको तराईका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने भए पनि मुख्य प्रभाव पहाडी र हिमाली भूभागमा रहनेछ । आइतबारपछि मौसममा ठूलो परिवर्तन आउने सम्भावना नरहेको उनको भनाइ छ ।

केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्नसक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन् । अहिले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा वर्षा तथा असिनाले क्षति पु¥याउन सक्ने भएकाले किसानले सावधानी अपनाउनुपर्ने देखिन्छ ।  यद्यपि अहिले देखिएको प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने खालको भने छैन । हिउँदको समयमा हुने वर्षा र हिमपातले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा पनि लिन सकिने मौसमविद्हरु बताउँछन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update