Shittalpati
आज छठ पर्व मनाइँदै

पाल्पा, आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । 

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको छ । कार्तिक शुक्लपक्षमा चारदिनसम्म मनाइने छठपर्वको तराईमधेसमा यतिबेला अलग्गै रौनक छाएको छ । छठपर्व मनाउनेहरुले पोखरी, नदी, तलाउलगायतका जलाशयहरुलाई सरसफाई गरी सजावट गरी जलाशयहरुलाई दुलहीझैं सिंगारेका छन् । छठपर्वको पहिलो दिन शुक्रबार नहायखाय विधि सम्पन्न गरिएको छ । कार्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथीका दिन बिहान व्रतालुहरुले विहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए । त्यो दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् ।

कार्तिक शुक्लपक्षको पञ्चमी तिथी अर्थात् पर्वको दोस्रो दिन खरना विधि गरिएको छ । खर्नाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गरी खरना विधि सम्पन्न गरिएको हो । त्यस्तै षष्ठी तिथी अर्थात् पर्वको तेस्रोदिन आज अस्ताउँदो सूर्य र सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन गरिन्छ ।

पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ व्रत विधिवत् रूपमा सम्पन्न हुनेछ । यस दिन व्रतालुले सूर्यदेवलाई अघ्र्य अर्पण गरी परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक विश्वास रहेको छ । विशेषगरी तराई–मधेश क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लामा समेत लोकप्रिय बन्दै गएको छ। यस पर्वमा महिला तथा पुरुष दुवैले व्रत बस्ने र परिवारका सदस्यहरू मिलेर पूजा तथा व्यवस्थापन गर्ने परम्परा छ । छठ पर्वले धार्मिक आस्था मात्र नभई सामाजिक सद्भाव, पारिवारिक एकता, प्रकृति संरक्षण र सांस्कृतिक पहिचानलाई समेत जोड्ने गरेको छ । सूर्य र जललाई विशेष महत्व दिइने यस पर्वमा नदी, पोखरी तथा जलाशयको सरसफाइ गर्ने परम्पराले वातावरण संरक्षणको सन्देशसमेत दिने गरेको छ।जातीय, भाषिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र एकताको भावना अभिवृद्धि गर्ने छठ पर्वलाई नेपालका विभिन्न समुदायले साझा सांस्कृतिक उत्सवका रूपमा मनाउन थालेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update