पाल्पा, अन्तर्राष्ट्रिय सहनशीलता दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १६ मा यो दिवस मनाउने गरिन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्नु यो दिवसको मुख्य लक्ष्य हो ।
सन् १९९६ मा संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने मान्यता दिएको थियो । सोही अनुरुप यो मनाउने गरिन्छ । नकारात्मक भावना र सोच एक–अर्काप्रतिको वितृष्णालाई कम गर्न समुदायबीच सहनशीलता बढाउन यो दिवस महत्वपूर्ण हुने गर्दछ । यस दिवसले फरक धर्म, संस्कृति, भाषा, जातजाति, विचार र जीवनशैली भएका मानिसबीच सम्मानपूर्ण व्यवहार कायम गर्नुपर्ने सन्देश दिने गरेको छ । सहनशीलता भनेको अरूको विचारसँग सहमत हुनु मात्र नभई फरक विचार र मान्यतालाई पनि सम्मान गर्दै शान्तिपूर्ण रूपमा सहअस्तित्व कायम गर्नु हो । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का सदस्य राष्ट्रहरूले सन् १९९५ नोभेम्बर १६ मा सहनशीलतासम्बन्धी सिद्धान्तको घोषणापत्र पारित गरेका थिए । त्यसको एक वर्षपछि सन् १९९६ मा संयुक्त राष्ट्रसंघको महासभाले नोभेम्बर १६ लाई अन्तर्राष्ट्रिय सहनशीलता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
विश्वका विभिन्न मुलुकमा जातीय, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विभेदका कारण द्वन्द्व र असमझदारी बढिरहेका बेला यस दिवसको महत्व अझ बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत फैलिने घृणात्मक अभिव्यक्ति, गलत सूचना, पूर्वाग्रह र भेदभावले पनि सामाजिक सद्भावमा चुनौती थपिरहेका छन् । सहनशील समाज निर्माणका लागि शिक्षा, संवाद, आपसी समझदारी र मानव अधिकारको सम्मान आवश्यक रहेको सरोकारवालाहरूले औँल्याउँदै आएका छन् । बालबालिकादेखि नै विविधताको सम्मान गर्ने संस्कार विकास गर्न सके समाजमा विभेद र असहिष्णुता कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा सहनशीलताको विशेष महत्व रहेको छ ।
सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी भाइचारालाई बलियो बनाउन सबै समुदायबीच सम्मान र सहकार्यको वातावरण आवश्यक छ । अन्तर्राष्ट्रिय सहनशीलता दिवसले एकअर्काको विचार, आस्था, संस्कृति र पहिचानको सम्मान गर्दै शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्न सबैलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय सहनशीलता दिवसले मानिसलाई आफूभन्दा फरक विचार, धर्म, संस्कृति र जीवनशैली भएका व्यक्तिलाई पनि समान सम्मान गर्न प्रेरित गर्दछ । यस दिवसका अवसरमा सहनशीलता, शान्ति, मानव अधिकार, समानता र सामाजिक सद्भाव प्रवद्र्धनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको छ ।
विश्वमा दिगो शान्ति, स्थायित्व र समृद्धि कायम गर्न केवल कानुन र नीतिनियम पर्याप्त हुँदैनन् । त्यसका लागि नागरिकको सोच, व्यवहार र सामाजिक संस्कारमा पनि सकारात्मक परिवर्तन आवश्यक हुन्छ । एकअर्काको अस्तित्व स्वीकार गर्ने, फरक विचारलाई सम्मान गर्ने र समस्याको समाधान संवादबाट खोज्ने संस्कार विकास गर्न सके मात्रै सभ्य, समतामूलक र शान्तिपूर्ण समाज निर्माण सम्भव हुन्छ ।

