Shittalpati
‘कालिका जगन्नाथ प्रतिभा पुरस्कार’ पाल्पाकी ओजस्वीलाई

पाल्पा, सानै उमेरमा वक्तृत्वकलामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएकी पाल्पाकी १४ वर्षीया ओजस्वी आचार्य ‘कालिका जगन्नाथ प्रतिभा पुरस्कार’बाट सम्मानित भएकी छन् ।  शहीद स्मृति पुस्तकालय, भैरहवाको २५औँ स्थापना दिवस तथा रजत महोत्सवका अवसरमा भैरहवामा आयोजित समारोहमा कक्षा १० मा अध्ययनरत आचार्यलाई नगद १० हजार रुपैयाँसहित दोसल्ला, पदक र प्रमाणपत्र प्रदान गरिएको हो ।

बाल वक्तृत्व, सामाजिक चेतना र युवामुखी प्रेरणाका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । तानसेन–९, दमकडास्थित दमकडा माध्यमिक विद्यालयमा अध्ययनरत आचार्यले विद्यालयस्तरबाट सुरु गरेको वक्तृत्व यात्रा राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याएकी छन् । सन् २०२५ मा थाइल्यान्डमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलनमा अतिथि वक्ताका रूपमा सहभागी भएकी उनलाई विदेशमा रहेका नेपालीलाई मातृभूमिसँग जोड्न योगदान गरेको भन्दै एनआरएनएले ब्रान्ड एम्बेसडरसमेत घोषणा गरेको थियो । यसैगरी, सशस्त्र प्रहरी बल नेपाल, नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय विद्यालय वक्तृत्व प्रतियोगितामा ७२ विद्यालयका ११६ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी आचार्यलाई लागूऔषधविरुद्धको अभियानमा ‘जागरण दूत’ घोषणा गरिएको थियो ।

चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ मा उनलाई ‘चैतन्य युवा प्रतिभा सम्मान’समेत प्रदान गरिएको थियो ।वक्तृत्वकलासँगै सामाजिक उत्तरदायित्व, सकारात्मक सोच र विकृति–विसंगतिविरुद्ध सचेतना फैलाउने विषयमा सक्रिय आचार्यले विद्यालयको रेकर्डिङ स्टुडियोमार्फत बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालन तथा अतिथिसँग अन्तर्वार्ता र संवादसमेत गर्दै आएकी छन् । पुस्तकालयका अध्यक्ष गोपालप्रसाद अर्यालको अध्यक्षतामा भएको समारोहको सञ्चालन सचिव रामप्रसाद घिमिरेले गरेका थिए ।कार्यक्रममा साहित्यकार, लेखक, शिक्षासेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो । रजत महोत्सवका अवसरमा बाल वक्ता, स्रष्टा, साहित्यकार तथा विभिन्न पेसामा योगदान पु¥याएका व्यक्तित्वलाई नौ विधामा सम्मान गरिएको थियो । योगनाथ आचार्य र हिरादेवी आचार्यले स्थापना गरेको अक्षयकोषबाट प्रदान गरिएको पुरस्कार ग्रहण गर्दै ओजस्वीले सम्मानले आगामी दिनमा थप जिम्मेवार भएर अघि बढ्न प्रेरणा मिलेको बताइन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update