Shittalpati
विश्व औलो दिवसको सन्दर्भ

विश्व औलो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । ‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहोर तथा दूषित पानीमा बस्छ । विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका धेरै छन् । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका रहने गरेका छन् । संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ ।

सबै जनतालाई निःशुल्क, प्रभावकारी, गुणस्तरीय सेवा पुर्‍याउँदै सन् २०२५ सम्ममा नेपालले औलो रोगमुक्त देश बनाउने लक्ष्यका साथमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । स्वास्थ्य संस्था र सरोकारवाला निकायले औलो निवारण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि नेपालमा औलोको प्रकोप कायमै छ । यसो हुनु दुखद् हो । औलो उन्मूलनका लागि भन्दै करोडौं रकम खर्च गरिएको छ तर परिणाम भने नगन्य रुपमा हुनु पक्कै पनि राम्रो होइन । औलो रोग लाग्न नदिनु लामखुट्टेको टोकाईबाट जोगिनु नै हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो । पानी जम्ने स्थानहरू कम गर्ने, बासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैं झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ । अर्कोतर्फ घर–घर, समुदायहरुमा जनचेतना फैलाउनु, शंकास्पद विरामीले तुरुन्त परीक्षण गर्ने जस्ता कुरामा ध्यान दिन सके मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update