Shittalpati
पाल्पाको छहरामा ईभी दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका –४ पिपल भञ्ज्याङ्गमा ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक छहरा अमलावासका ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा– १ सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र छहरा –४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहाको निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रधानले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई जिल्ला अस्पताल पाल्पा पठाएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । 
गाडीमा तीन जना मात्र सवार रहेको प्रधानले बताए । छहराको अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको  ईभी गाडी  बुधबार दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो । ईभी सडकदेखि झण्डै एक हजार मिटर तल खोल्सामा पुगेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update