Shittalpati
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६० औँ स्थापना दिवस

पाल्पा, जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छाता संस्था पाल्पा उद्योग वाणिज्य संघले आफ्नो ६०औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । संघले स्थापना दिवस समारोहमा रक्तदान, अग्रज व्यवसायी सम्मान, स्मारिका विमोचन तथा संघको ऐतिहासिक यात्रा र गतिविधि समेटिएको भिडियो डकुमेन्ट्री प्रदर्शन गरी स्थापना दिवस मनाएको हो ।

संघले छ दशकको यात्रालाई स्मरण गर्दै संस्थागत योगदान र व्यावसायिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई सम्मानसमेत गरेको छ । कार्यक्रममा लामो समयदेखि पाल्पामा व्यवसाय गर्दै आएका अग्रज व्यवसायी केदारलाल श्रेष्ठ, सन्तलाल बज्राचार्य, ज्ञानुकुमार बज्राचार्य र बलराम प्रधानलाई सम्मान गरिएको संघका अध्यक्ष समिरमान सिंहले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले आम नागरिकको हितमा संघले विगतदेखि गर्दै आएका काम प्रशंसनीय रहेको बताए । उनले व्यवसाय प्रवद्र्धन, सुरक्षित व्यावसायिक वातावरण निर्माण र बजार अनुगमनलाई प्रभावकारी बनाउन निजी क्षेत्र तथा सरकारी निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराई, पूर्वअध्यक्ष राजु महर्जन, नेपाल नेत्रज्योति संघ पाल्पाका अध्यक्ष बुद्धिप्रसाद शर्मा र सम्मानित व्यवसायी केदारलाल श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै पाल्पाको समग्र विकासका लागि व्यावसायिक एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । स्थापना दिवसकै अवसरमा संघका विगतका गतिविधि, उपलब्धि र संस्थागत विकासका विभिन्न पक्ष समेटिएको भिडियो डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । साथै संघका गतिविधि, अनुभव तथा विभिन्न लेखरचना समावेश गरिएको स्मारिका पनि सार्वजनिक गरिएको संघका सचिव सुरेश गोदारले जानकारी दिए ।संघका अध्यक्ष समिरमान सिंहको अध्यक्षता, सचिव सुरेश गोदारको सञ्चालन र उपाध्यक्ष रञ्जना अर्यालको धन्यवाद ज्ञापनमा कार्यक्रम भएको थियो  ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update