पाल्पा, १२ औँ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, तानसेन पाल्पाले जिल्लाका दुई उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा तानसेन नगरपालिका–४ का पौड्याल ढाका उद्योगका सञ्चालक मनोजराज शर्मा पौड्याल र रामपुर नगरपालिका–६ स्थित कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रका सञ्चालक कृष्णकुमार अर्याल रहेका छन् ।लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्यद्वय वीरबहादुर राना र खेमबहादुर सारु तथा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका वरिष्ठ उद्योग अधिकृत केशवबहादुर सुनारले दुवै उद्यमीलाई जनही ३५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान तथा पुरस्कृत गरेका हुन् ।
सम्मानित उद्यमी अर्यालले विगत २० वर्षदेखि गाईभैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । पूर्वी पाल्पाको रामपुरमा उनले पशुपालन व्यवसायमार्फत प्रेरणाको स्रोतका रूपमा पहिचान बनाएका छन् । हाल अर्यालले उन्नत जातका ५० वटा गाईभैँसी पाल्दै आएका छन् । उनको फार्ममा चार जनाले नियमित रोजगारी पाएका छन् भने आवश्यकता र कामको चापअनुसार थप १० देखि २० जनालाई रोजगारी दिने गरेको उनले बताए । आफ्नो व्यवसायप्रति पूर्ण सन्तुष्टि व्यक्त गर्दै अर्यालले गाईभैँसीपालनबाटै छोरालाई एमबीबीएस चिकित्सक र छोरीलाई बीएन नर्सिङ पढाउन सफल भएको बताए । यस व्यवसायबाट आर्थिक रूपमा आत्मनिर्भर हुनुका साथै समाजमा राम्रो सम्मानसमेत पाएको उनको भनाइ छ । उनले आफ्नै २० रोपनी र भाडामा लिएको ८० रोपनी गरी एक सय रोपनी जग्गामा घाँसखेती गर्दै आएका छन् । पाल्पा ढाका कपडाका लागि पनि परिचित जिल्ला हो ।
जिल्लामा हाल १४ वटा ढाका उद्योग सञ्चालनमा रहेका छन् । सम्मानित अर्का उद्यमी पौड्यालले तानसेनमा रहेर विगत ४० वर्षदेखि पाल्पाली ढाका उद्योग सञ्चालन गर्दै आएका छन् । उनको उद्योगमा ४० जनाले नियमित रोजगारी पाएका छन् । उद्योगमा काम गर्ने अधिकांश महिला रहेका छन् । पौड्यालले ढाका कपडामा प्रयोग हुने बुट्टा र डिजाइन आफैँ तयार गर्दै आएको बताए । केन्द्र, प्रदेश र स्थानीय सरकारले उद्योगमैत्री वातावरण तथा आवश्यक सहयोग उपलब्ध गराए सयौँलाई रोजगारी दिन सकिने उनको भनाइ छ । उद्योगको विकास र विस्तारका लागि तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरेको उनले बताए । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका वरिष्ठ उद्योग अधिकृत केशवबहादुर सुनारका अनुसार कार्यालयमा हाल दुई हजार ७६० वटा उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षमा मात्रै ८४ वटा नयाँ उद्योग थपिएका छन् भने १०८ वटा उद्योग पालिकामा स्थानान्तरण तथा खारेजी भएका छन् । जिल्लामा दर्ता भएका उद्योगहरूमा कुल २२ करोड २० लाख रुपैयाँ लगानी रहेको कार्यालयले जनाएको छ ।


