पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घमटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्चिम, सिराहा, धनुषामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
धनुषाको कमला नगरपालिका–२ सराबेस्थित सडकमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । म.प्र.०२–००१ त ३१९९ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार हंसपुर नगरपालिका–९ रूदौली बस्ने राम कुमार मण्डलको छोरा १४ वर्षीय जिसान्त कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त ट्याक्टर ब्याक गर्ने क्रममा ट्याक्टरमा सवार मण्डल ट्याक्टरबाट लडी ट्याक्टरको चक्काले किच्दा उक्त दुर्घटना भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सिराहाको गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित सडकमा हाल नम्बर नखुलेको स्कर्पियोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बसन्त महराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोलबजार हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार स्कर्पियो र चालकको खोजी गरिरहेको छ । यस्तै नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ बसहीस्थित सडकमा लु. प्र ०१–००८ प ८७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–१ बस्ने ५० वर्षीय निम बहादुर चौधरीको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको सोही अस्पतालमा र मोटरसाइकल चालकको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ ।


