Shittalpati
तिहारको मुखमै विभिन्न घटनामा नौ जनाको मृत्यु

पाल्पा, तिहारको चहलपहल बढिरहेका बेला देशका विभिन्न जिल्लामा भएका दुर्घटना तथा अन्य घटनामा परी नौ जनाले ज्यान गुमाएका छन्। केन्द्रीय समाचार कक्षका अनुसार छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा छ जना, खोलामा डुबेर एक जना र अन्य दुई जना मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार सिराहाको गोलबजार नगरपालिका–७ पुरानो चौहर्वामा बा.७० प ७२०० नम्बरको मोटरसाइकल र स.१ त.७९१५ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा २२ वर्षीय लटल सदायको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका सदायको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् भने ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक ना.६ ख १४५८ नम्बरको टूक र प्र.२–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा २१ वर्षीय निराजन यादवको मृत्यु भएको छ । सर्लाहीको बसवरिया गाउँपालिका–३ निवासी यादवको हेटौंडास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।  यस्तै धनुषाको मिथिला बिहारी नगरपालिका–६ मा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय राहुल साहको पनि मृत्यु भएको छ । गम्भीर घाइते भएका साहको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् । यसैगरी, नवलपरासी पूर्वको कावासोती नगरपालिका–१६ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक महिनाका मायुस सारूको मृत्यु भएको छ । कावासोती–१ हात्तीखोर निवासी ३२ वर्षीय रमेश सारू मगरका छोरा मायुसको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक र अर्का एक जना घाइते भएका छन् । उता गोरखा नगरपालिका–८ माथिल्लो खोलखोले गैरीचौतारामा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय महेश बानियाको मृत्यु भएको छ । आरुघाटबाट गोरखातर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका बानियाको प्रादेशिक अस्पताल गोरखामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै कास्कीको पोखरा महानगरपालिका–६ जरेवरमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय देव तामाङको मृत्यु भएको छ । पोखरा–९ चिप्लेढुङ्गा बस्ने तथा मकवानपुरको हेटौंडा घर भएका तामाङको जिएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  यसैबीच, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ आँखा अस्पताल नजिक मनोहरा खोलामा डुबेर १० वर्षीया अनुष्का राईको बिहीबार साँझ मृत्यु भएको छ । यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीस्थित रामजानकी सामुदायिक जंगलमा ७० वर्षीय शिवलाल गिरी मृत अवस्थामा फेला परेका छन् । रामेछापको सुनापती गाउँपालिका–५ स्थित सुनकोशी नदी किनारमा अन्दाजी २६ वर्षीय एक पुरुषको शव पनि फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन। यी सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


 

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update