पाल्पा, पाल्पामा पछिल्लो १० वर्षको अवधिमा विपद्जन्य घटनामा परी १ सय २ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो, वर्षालगायतका विपद्का घटनामा परी ३ सय ५८ जना घाइते भएका छन् भने पाँच जना अझै बेपत्ता रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार २०७४ साउनदेखि २०८३ असारसम्मको अवधिमा ९७ जनाको मृत्यु भएको थियो । गत महिना असोजमा आएको बाढीपहिरो तथा वर्षाका कारण थप पाँच जनाले ज्यान गुमाएपछि विपदमा परी मृत्यु हुने को संख्या १ सय २ पुगेको हो ।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले जिल्लामा ठूलो भौतिक तथा आर्थिक क्षति समेत पु¥याएको छ । प्रारम्भिक विवरणअनुसार सडक, सिँचाइ, तटबन्ध, खानेपानी, कृषि तथा पशुपन्छी क्षेत्रमा गरी करिब ३७ करोड ७५ लाख ३६ हजार ६ सय ९२ रुपैयाँ बराबरको क्षति भएको समितिले जनाएको छ ।
कृषि क्षेत्रमा डेढ करोडको क्षति
असोज महिनामा आएको बाढीका कारण पाल्पामा कृषि बालीतर्फ मात्रै एक करोड ४९ लाख ९५ हजार ६ सय ९२ रुपैयाँ बराबरको क्षति भएको छ । कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार बगनासकालीमा सबैभन्दा बढी २४ लाख ३७ हजार ४५२ रुपैयाँ, रामपुरमा २४ लाख ७८ हजार रुपैयाँ, तानसेनमा १९ लाख ५० हजार रुपैयाँ र तिनाउमा १४ लाख ७० हजार रुपैयाँ बराबरको कृषि बाली नष्ट भएको छ । त्यस्तै माथागढीमा ५६ लाख, पूर्वखोलामा सात लाख छ हजार, रम्भामा दुई लाख ६४ हजार र निस्दीमा ९० हजार २४० रुपैयाँ बराबरको क्षति भएको केन्द्रले जनाएको छ । यस्तै बाढी र वर्षाले पशुपन्छी तथा मत्स्य क्षेत्रमा समेत ठूलो क्षति पु र्याएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार असोज ८ देखि ११ गतेसम्मको वर्षाका कारण जिल्लामा ४५ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । जसमध्ये बगनासकाली गाउँपालिकामा सबैभन्दा बढी २७ लाख ७० हजार रुपैयाँ, तानसेन नगरपालिकामा १० लाख ८५ हजार रुपैयाँ र माथागढी गाउँपालिकामा सात लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
१२९ घर तथा संरचनामा क्षति
वर्षा, बाढी र पहिरोका कारण जिल्लाका विभिन्न स्थानीय तहमा घर तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ । तिनाउ गाउँपालिकामा सातवटा घर पूर्ण रूपमा र एउटा आंशिक रूपमा क्षति भएका छन् । रैनादेवी छहरा गाउँपालिकामा तीनवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५५ वटा संरचनामा क्षति पुगेको विवरण प्राप्त भएको छ । त्यस्तै पूर्वखोला गाउँपालिकामा ६३ वटा घर तथा संरचनामा क्षति पुगेको छ। समग्रमा १२९ घर तथा संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भएको छ ।
सिँचाइ आयोजना र तटबन्ध निर्माणमा झण्डै १३ करोड आवश्यक
बाढीपहिरोले सिँचाइ तथा नदी नियन्त्रणका संरचनामा पनि ठूलो क्षति पुर्याएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जिल्लाका १४ वटा सिँचाइ आयोजनामा क्षति पुगेको छ । ती आयोजनाको पुनर्निर्माण तथा मर्मतका लागि तीन करोड ९५ लाख रुपैयाँ आवश्यक पर्ने कार्यालयले जनाएको छ । त्यस्तै माडीफाँट क्षेत्रमा तटबन्ध निर्माणका लागि आठ करोड ८६ लाख ६६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सिँचाइ आयोजना र तटबन्ध निर्माणमा मात्रै करिब १२ करोड ८१ लाख ६६ हजार रुपैयाँ आवश्यक देखिएको छ ।
संघीय सडकमा १६ करोड ८३ लाखको क्षति
बाढीपहिरोका कारण पाल्पाका मुख्य तथा सहायक सडकहरूमा समेत व्यापक क्षति पुगेको छ । डिभिजन सडक कार्यालय पाल्पाअन्तर्गतका छवटा सडक आयोजनाको मर्मत तथा पुनःसञ्चालनका लागि १६ करोड ८३ लाख रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएको छ । उक्त सडक मर्मतका लागि एक करोड ९० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ ।
बर्तुङ–तानसेन–रिडी सडकखण्डका नौ स्थानमा क्षति पुगेको छ । यसको मर्मतका लागि दुई करोड ४३ लाख रुपैयाँ लाग्नेछ । त्यस्तै रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडकका नौ स्थानमा क्षति पुगेकाले मर्मतका लागि तीन करोड रुपैयाँ आवश्यक पर्ने कार्यालयले जनाएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पिपलडाँडा–डेढगाउँ–दमराफाँट खण्डका छ स्थानमा सडक मर्मत गर्न दुई करोड २० लाख रुपैयाँ लाग्ने अनुमान छ । कालीगण्डकी करिडोरको हर्मिचौरदेखि पालुङखोलासम्म नौ स्थानमा सडक बगाएको, भासिएको तथा पहिरोले अवरुद्ध पारेको छ । उक्त सडकलाई हालकै स्थानबाट सञ्चालनमा ल्याउन सात करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । यस्तै भीमाद–रामपुर–मित्याल–अरुणखोला सडकअन्तर्गत केलादीघाटमा पुलको संरचनामा क्षति पुगेपछि यातायात सञ्चालन बन्द भएको छ । पाल्पातर्फको पुलको माथिल्लो संरचना नदीको बहावतर्फ १३ देखि १७ सेन्टिमिटरसम्म धकेलिएको पाइएको छ । यस विषयमा विस्तृत प्राविधिक अध्ययन भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका निमित्त प्रमुख पवित्रमणि आचार्यले बताए ।
प्रादेशिक सडक मर्मतमा तीन करोड ७५ लाख लाग्ने
बाढीपहिरोले प्रदेश सरकारअन्तर्गतका आठवटा सडकमा क्षति पुर्याएको छ । ती सडक मर्मत गरी पुनः सञ्चालनमा ल्याउन तीन करोड ७५ लाख रुपैयाँ आवश्यक पर्ने सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख सागर मरासिनीले जानकारी दिए । उनका अनुसार तानसेन–रानीमहल सडकखण्डको करिब दुई किलोमिटर क्षेत्र प्रभावित भएको छ । विभिन्न स्थानमा पहिरो खस्नुका साथै रानीमहल नजिक कालीगण्डकी करिडोर क्षेत्रमा सडक भासिएको छ । यसको मर्मत तथा पुनर्निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ आवश्यक पर्नेछ । हुमिन–सिमल्दी–पूर्वखोला सडकको पाँच सय मिटर क्षेत्रमा पहिरो र नदी कटानका कारण ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बासटारी–झडेवा–दुम्कीबास सडकअन्तर्गत देउगिर क्षेत्रमा सडक चिराचिरा परेको छ भने विभिन्न स्थानमा पहिरो खसेर करिब चार सय मिटर सडक प्रभावित भएको छ । यस सडकको विस्तृत प्राविधिक अध्ययन गर्नुपर्ने कार्यालयले जनाएको छ । रामपुर–कपुरकोट सडकखण्डको बेलडाँडा र आर्यभञ्ज्याङ नजिक सडक भासिएको, चिरा परेको तथा पहिरोको उच्च जोखिम देखिएको छ । तत्काल सडक सञ्चालनमा ल्याउन ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ । त्यस्तै काफलडाँडा–केरौली–झडेवा–जगात–ढाबखैरेनी सडकको पाँच सय मिटर क्षेत्रमा दुई स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । यसको मर्मतमा ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पूर्वखोला–२, जल्पास्थित पल्लो भञ्ज्याङ–लावे मोटरबाटोको पाँच सय मिटर क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यसको मर्मतमा ३० लाख रुपैयाँ लाग्नेछ।लामडाँडा–गोरसत–लालपाटी–बधवारी–दोहरा सडकको दुई किलोमिटर क्षेत्रमा कटान हुँदा २० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । त्यस्तै प्याकलुक–कालीगण्डकी करिडोर–रातमाटा–खालिवन–जवगादी सडकको प्याकलुक खण्डमा दुई सय मिटर क्षेत्रमा पहिरो जाँदा पुल तथा सडक संरचनामा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
७० खानेपानी आयोजनामा क्षति, मर्मतमा साढे दुई करोड आवश्यक
बाढीपहिरोले खानेपानीका संरचनामा पनि ठूलो क्षति पुर्याएको छ । खानेपानी तथा सरसफाइ कार्यालयअन्तर्गतका ७० वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । कार्यालयका अनुसार ती आयोजनाको मर्मत तथा पुनः सञ्चालनका लागि दुई करोड ४० लाख रुपैयाँ आवश्यक पर्नेछ ।
सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न प्रशासनको निर्देशन
यस वर्ष पनि बेमौसमी वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सतर्क रहन र सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबै निकायलाई जिम्मेवार भएर काम गर्न आग्रह गरिएको छ।पाल्पाका संघीय सांसद, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्लामा सक्रिय राजनीतिक दलका प्रतिनिधि, १० वटै स्थानीय तहका प्रमुख तथा अध्यक्ष र सरकारी कार्यालयका प्रमुखहरूको बैठकले विपद् जोखिम न्यूनीकरणका लागि सबै पक्ष आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने निर्णय गरेको छ । बैठकले सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी, सावधानी र समन्वयलाई प्रभावकारी बनाउने तथा विपद्जन्य घटनाबाट हुन सक्ने थप क्षति रोक्न सबै पक्ष जिम्मेवार भएर परिचालित हुने निष्कर्ष निकालेको छ ।


