पाल्पा, पाल्पा जिल्लाका विभिन्न स्थानमा स्वरुप परिवर्तन गरी तीव्र गतिमा मोटरसाइकल चलाउने तथा चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीले निगरानी र कारबाही अभियानलाई तीव्रता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहतका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट स्वरुप परिवर्तन गरिएका ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलको स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, तीव्र गतिमा सवारी चलाउने तथा सर्वसाधारणलाई असहज हुने गरी ध्वनि प्रदूषण गर्ने गतिविधि बढ्दै गएपछि प्रहरीले त्यस्ता मोटरसाइकलमाथि निगरानी बढाएको हो ।
विशेषगरी स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा ध्वनि प्रदूषण हुनुका साथै सडकमा अन्य सवारी चालक तथा पैदलयात्रीलाई समेत असहज हुने भएकाले नियन्त्रण तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने र तीव्र गतिमा गुड्ने ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारबाही गरिएको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए । प्रहरीले सवारी साधनको स्वरुप आफूखुसी परिवर्तन नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा ध्वनि प्रदूषण हुने गतिविधि नगर्न सवारी चालकलाई आग्रह गरेको छ । साथै, सडकलाई सुरक्षित, व्यवस्थित र सर्वसाधारणका लागि सहज बनाउन यस्ता गतिविधिविरुद्ध आगामी दिनमा समेत निगरानी तथा कारबाहीलाई निरन्तरता दिने प्रहरीले जनाएको छ ।

