दाङ, दाङको देउखुरी क्षेत्रमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लमही–भालुवाङ सडकखण्डअन्तर्गत राप्ती गाउँपालिका–३ बाघढद्रीमा सोमबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको हो ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए । दुर्घटनामा परी राप्ती गाउँपालिका–६ भगवानपुर निवासी ३१ वर्षीय प्रवीण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि भालुवाङ अस्पताल पुर्याइएको थियो । तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । त्यस्तै, मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–३ मसुरिया निवासी १६ वर्षीय निशु चौधरी र १९ वर्षीया करिना चौधरी घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका दुवै जनालाई थप उपचारका लागि बुटवल लगिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । उनीहरूको बुटवलमा उपचार भइरहेको छ । लमही–भालुवाङ सडकखण्डमा भएको उक्त दुर्घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण बनेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।


