पाल्पा, तानसेन बचत तथा ऋण सहकारी संस्थाले १८ औं साधारणसभा तथा ७ औं अधिवेशन गरेको छ । संस्थाले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा तथा अधिवेशन गरेको हो ।
अधिवेशनको लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवं प्रदेश सांसद खेम बहादुर सारुले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले तानसेन सहकारी पाल्पा जिल्लाकै नमुना सहकारी भएको बताए । संस्थामा हाल १२ सय शेयर सदस्यहरु रहेकोमा सबैको हैसियत तथा शेयर लगानी समान तथा बराबरी अवस्थामा यस क्षेत्रकै नमुना सहकारी रहेको बताए । २०६५ सालमा ४० जना शेयर सदस्यबाट स्थापना भएको तानसेन सहकारी संस्थाले सानो सानो पुजी संकलन गरेर ठूलो कारोवार गर्न सफल भएको सांसद सारुले बताए ।
संस्थाले आफुले लगानी गरेका प्रत्येक शेयर सदस्यहरुले १० हजार लगानी गरेर बार्षिक रुपमा २५ प्रतिशत भन्दा बढी लांभाश पाउदै आएकोले यो उत्कृष्ट सहकारीको रुपमा परिचित हुन सफल भएको उनले उल्लेख गरे । हरेक सहकारीमा जनताको पसिना र लगानी भएकोले हरेक कुराहरु पारदर्र्शी हुनुपर्ने र सहकारीले ७ सिद्धान्त अनुरुप काम गर्नुपर्नेमा सांसद् सारुले जोड दिए । संस्थाका अध्यक्ष भोजराज पोखरेल (रामजी)ले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अबका दिनमा सहकारीका शेयर सदस्यहरुले कुनै शेयर सदस्यहरुको मृत्यु भएमा १० हजार रुपैयाँ सहयोग पाउँदै आएकोमा अबका दिन देखी २ लाखसम्म सहयोग पाउने जानकारी दिए । सहकारीले अबका दिनमा शेयर सदस्यहरुलाई जीवन सुरक्षा जीवन विमा मार्फत कालगतीबाट मृत्युमा भएमा १ लाख र दुर्घटनाबाट मृत्यु भएमा २ लाख सम्म सहयोग पाउने छन् भने विमाको सिमा भन्दा माथीका शेयर सदस्यहरुको लागि भने १० हजार २० हजार सहयोग प्रदान गर्ने नीति लागु गरेको अध्यक्ष पोखरेलले बताए । सहकारीले प्रदान गर्ने प्रत्येक ऋणको विमा गरी लगानीलाई सुरक्षित बनाउने अध्यक्ष पोखरेलले शेयर सदस्यहरुलाई जानकारी दिए । ४ लाख पँुजीबाट शुरु भएको सहकारीको शेयर पँुजी हालसम्म १ करोड १४ लाख ३० हजार रहेको छ । संस्थामा बचत १२ करोड ५६ लाख १८ हजार ३ सय ३८ रुपैयाँ, ऋण लगानी १२ करोड ७२ लाख १६ हजार १ सय ५० रुपैयाँ, कुल पुँजी १५ करोड ६३ लाख ११ हजार १ सय ८९ रुपैयाँ, ऋण असुली ४ करोड ८ लाख १२ हजार २ सय ७७ रुपैयाँ, कुल आम्दानी १ करोड ३५ लाख ९७ हजार ४ सय ४२ रुपैयाँ, खुद नाफा १४ लाख ८१ हजार ९ सय ६१ रुपैयाँ, जगेडाकोष ५५ लाख १५ हजार ९ सय ९ रुपैयाँ, अन्य कोष १ करोड २९ लाख ५८ हजार ५ सय ६३ रुपैयाँ र बैंकमा नगद २ करोड ८५ लाख १६ हजार ८ सय २४ रुपैयाँ रहेको कोषाध्यक्ष दिपक विश्वकर्माले जानकारी दिए । साधारणसभामा संविधान सभा सदस्य नारायणी शर्मा घिमिरे, प्रमुख सल्लाहकार भेषराज सुवेदी, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुल्सीराम भुसाल, जिल्ला सहकारी संघका प्रतिनिधी पूर्ण प्रसाद घिमिरे, शेयर सदस्य विष्णु सिग्देल र ईन्दिरा गैरे लगायतले सहकारीले गर्दै आएको काम, शेयर सदस्यहरुलाई दिएको सेवा सुविधा तथा सहकारीको लोकप्रियताको बारेमा चर्चा गरेका थिए । साधारणसभामा लेखा समितिका संयोजक जीवनाथ गैरेले बर्षभरीमा लेखा समितीले गरेका कामहरुको बारेमा जानकारी दिए ।
साधारणसभामा एसइईमा ४ जिपिए ल्याउने नेल्सन अर्याल, असिम गैरे र स्मारिका सुवेदी र प्लस टुमा उत्कृष्ट जिपिए ल्याउने संयम नेपाल र संस्कृति खत्रीलाई नगद, प्रमाणपत्रबाट सम्मान गरिएको थियो । यसैगरी संस्थामा नियमित तथा बढी रकम बचत गर्ने लक्ष्मी रोकाहा, उत्कृष्ट ऋणी शान्ता सुनार र सबैभन्दा बढी शेयर सदस्य थप्न योगदान गरेकोमा मायादेवी खत्री साधारणसभामा सम्मानित भएका छन् । कार्यक्रम संस्थाका अध्यक्ष पोखरेलको अध्यक्षता, उपाध्यक्ष शान्ती बस्याल पाण्डेयको स्वागत र सचिव धनिश्वर बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
अध्यक्षमा पुनः पोखरेल
तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको सातौ अधिवेशनबाट भोजराज पोखरेल( रामजी)को अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा शान्ती बस्याल पाण्डेय, सचिवमा धनिश्वर बस्याल र कोषाध्यक्षमा दिपक विश्वकर्मा पुन निर्वाचित भएका हुन् । यसै गरी सदस्यहरुमा भरत प्रसाद न्यौपाने, डमकला राउत( अनिता), पदम गैरे, रमेश खनाल र अमृता श्रेष्ठ निर्वाचित भएका हुन् । यसैगरी लेखा समितिको संयोजकमा जीवनाथ गैरे, सदस्यमा अम्विका पाठक बस्याल र संगिता घिमिरे भट्टराई निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता नारायण प्रसाद ज्ञवालीले बताए ।


