पाल्पा, न्यू होराइजन उच्च माध्यमिक विद्यालय बुटवलको आयोजनामा तानसेनमा सञ्चालित लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पाल्पा, गुल्मी र अर्घाखाँचीका ४० विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पाल्पाको जनता माध्यमिक विद्यालय प्रथम, देववाणी माध्यमिक विद्यालय पाल्पा द्वितीय र गुल्मीको रेम्बो बोर्डिङ स्कुल तृतीय भएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीले आगामी मंसिर १९ गते हुने अन्तिम चरणको प्रतियोगितामा सहभागिता जनाउने न्यू होराइजन उच्च माध्यमिक विद्यालय पाल्पाका राजेन्द्र लिगलले जानकारी दिए। प्रतियोगिताको प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर रानाले एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै सांसद रानाले प्रदेशस्तरमा शैक्षिक प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजित कार्यक्रम प्रशंसनीय रहेको बताए । उनले यस्ता प्रतियोगिताले विद्यार्थीको पाठ्यज्ञानसँगै अतिरिक्त ज्ञान, बौद्धिक क्षमता र प्रतिस्पर्धात्मक भावनाको विकासमा सहयोग पुग्ने उल्लेख गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा विशिष्ट अतिथि तानसेन नगरपालिका–७ का वडाध्यक्ष प्रदीप खनालले विजयी प्रतियोगीलाई बधाई तथा आगामी चरणका लागि शुभकामना दिए । न्यू होराइजन बोर्डिङ स्कुल पाल्पाका प्रिन्सिपल डाँसुराम पन्तको अध्यक्षता, कार्यक्रम संयोजक प्रकाश बस्यालको स्वागत, गणेश भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।


