रूपन्देही, रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुम्बासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।साविक हाटीबगाई गाविस–६ मा बसोबास गर्दै आएका उनीहरूको जग्गाको नापजाँच विसं २०७० मा सम्पन्न भएको थियो । नापजाँच र नक्सांकनको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन ।बलामो समयदेखि रोकिएको प्रक्रिया पूरा भएपछि गाउँपालिकाले १४८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष धु्रवनारायण चौधरीले लाभग्राही परिवारलाई प्रमाणपुर्जा वितरण गरेका हुन् । जिल्ला नापी कार्यालय रूपन्देहीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई प्रमाणपुर्जा उपलब्ध गराइएको हो ।प्रमाणपुर्जा प्राप्त भएसँगै ती परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ । यसबाट जग्गाको स्वामित्वसम्बन्धी कानुनी पहिचान सुनिश्चित हुनुका साथै सम्पत्तिको सुरक्षा र उपयोगमा सहज हुने अपेक्षा गरिएको छ ।


