पाल्पा, माग सुनुवाइ नभएपछि नेपाल पत्रकार महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको भन्दै महासंघले आन्दोलनमा उत्रिएको हो ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्नु परेको जनाएको छ । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पुर्याउनेमाथि कारबाही नभएको महासंघको आरोप छ । त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको कारणका रूपमा उल्लेख गरेको छ । महासंघले पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सफलतापूर्वक सम्पन्न भए पनि सरकारले आफ्ना मागलाई बेवास्ता गरेको जनाएको छ । सरकारमाथि थप दबाब सिर्जना गर्न र संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आफ्ना मागप्रति सहमत गराउन दोस्रो चरणको आन्दोलन घोषणा गरिएको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घोषित कार्यक्रमअनुसार जिल्ला, प्रदेश र केन्द्रमा १३ मंसिरमा रास्वपा कार्यालय, १४ मंसिरमा कांग्रेसको कार्यालय, १५ मंसिरमा एमाले, १६ मंसिरमा नेकपा, १७ मंसिरमा श्रम संस्कृति पार्टी र १८ मंसिरमा राप्रपाको कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ । ती दलका कार्यालयमा ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता:प्रमुख दल किन मौन ?’ भन्ने नारासहित धर्ना दिइनेछ । त्यस्तै, मंसिर २० गते काठमाडौंको माइतीघर र देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने महासंघको कार्यक्रम छ । महासंघले कुनै पनि राजनीतिक दलले आफ्ना मागप्रति लिखित ऐक्यबद्धता जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरे त्यस्तो दलको कार्यालयमा धर्ना नदिने जनाएको छ । दोस्रो चरणको आन्दोलनबाट पनि माग सम्बोधन नभए तेस्रो चरणका कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ ।

