Shittalpati
पत्रकार महासंघ पाल्पाले प्रशासन कार्यालयमा ‘सामूहिक गिरफ्तार गर’ भन्दै दियो धर्ना

पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पा शाखाले जिल्ला प्रशासन कार्यालय परिसरमा विरोध प्रदर्शनसहित धर्ना दिएको छ । ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने व्यंग्यात्मक नारासहित ब्यानर प्रदर्शन गरेका पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् । लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको स्वतन्त्र प्रेसमाथि राज्यपक्षबाटै हस्तक्षेप हुनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको पत्रकारहरूको भनाइ छ । महासंघले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएकोप्रति पनि गम्भीर आपत्ति जनाएको छ ।

त्यस्तै, लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएकोप्रति महासंघले असन्तुष्टि जनाएको छ । पत्रकारको पेसागत सुरक्षा, श्रम अधिकार र सञ्चारमाध्यमको आर्थिक आधारमाथि भइरहेको हस्तक्षेपले समग्र पत्रकारिता क्षेत्र प्रभावित भएको महासंघको भनाइ छ ।

महासंघका पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले पत्रकारलाई निर्भयतापूर्वक समाचार संकलन, लेखन, प्रकाशन तथा प्रसारण गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरे । संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै पत्रकारमाथिको धरपकड रोक्न, पक्राउ परेका पत्रकारको पेसागत अधिकार सुनिश्चित गर्न र प्रेस स्वतन्त्रताविरोधी गतिविधि तत्काल बन्द गर्न उनले सरकारलाई चेतनावनी दिए । महासंघले आफ्ना मागप्रति सरकार गम्भीर नभए आन्दोलनका थप कार्यक्रम अघि बढाउने बताए ।

समाचारको स्रोत खोज्ने नाममा पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्ने तथा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने सरकारको कदमको विरोधमा पाल्पासहित देशभरका पत्रकार आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारको निर्भयतापूर्वक काम गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप र पत्रकारहरूमाथि गरिएको सामूहिक गिरफ्तारी तथा धरपकड प्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघको आह्वानमा बुधबार देशभरका जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update