Shittalpati
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै

पाल्पा, हरेक वर्ष नोभेम्बर २५ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र शोषण अन्त्य गर्दै उनीहरूको सम्मान, सुरक्षा, समानता र अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष दिवसको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण दण्डहिनताको अन्त्य र न्यायको सुनिश्चितता’ रहेको छ । नेपालमा २०५४ सालदेखि लैकि हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो । यस दिवसलाई नेपालमा पनि सोह्रदिने अभियानको रूपमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिएको छ । शारीरिक, मानसिक, आर्थिक, राजनीतिकलगायत अन्य महिला हिंसाका अनेकन रूप छन् । 

 प्रत्येक वर्ष महिला हिंसाविरुद्धको दिवसलाई महिला अधिकारकर्मीले भव्यरूपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाको अवस्था भने ज्यूँका त्यूँ छन् । अझै पनि महिलाहरु आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक रूपले विभेदीकरणमा परेका छन् भने शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् । मानव सभ्यातालाई ढुंगे युगदेखि आजको २१ औँ शताब्दीको आधुनिक युगसम्म आइपुग्दा पनि जसरी समाज विकासक्रम अगाडि बढेको छ त्यही क्रममा आधाभन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने महिला माथि लैङ्गिक विभेद एवं हिंसाको घटनामा न्यूनीकरण आउन सकेको छैन । पितृसत्तात्मक संरचनामा जकडिएको नेपाली समाजमा महिला र पुरुष एउटै रथमा दुई पाङ्ग्रा एवं समानताको कुरा जतिसुकै गरिए पनि व्यवहारमा हिंसाको दुष्चक्रमा महिलाहरु भासिँदै जाने असहज परिस्थिति बन्दै गएको छ । महिलाहरु शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा कमजोर हुन्छन् भन्ने सोचबाट विकसित समाज अझै आफैँमा भेदभावयुक्त छ ।कानुनी व्यवस्था र अधिकारका विषयमा चेतना बढ्दै गए पनि व्यवहारमा महिला हिंसा पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक तीनमध्ये एक महिला आफ्नो जीवनकालमा शारीरिक वा यौनजन्य हिंसाबाट प्रभावित हुने गरेका छन् । सन् २०२४ मा मात्रै विश्वभर करिब ५० हजार महिला तथा बालिका आफ्नै परिवारका सदस्य वा अन्तरङ्ग साथीबाट मारिएका संयुक्त राष्ट्रसंघको तथ्याङ्क छ ।  सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका मिराबल दिदीबहिनीको राजनीतिक कारणले हत्या गरिएको घटनाको सम्झनामा यो दिवस मनाउन थालिएको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update