पाल्पा, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण गर्ने र त्यसको कार्यान्वयन गर्ने निकाय जिम्मेवार तथा इमानदार भए देशलाई समृद्ध बनाउन धेरै समय नलाग्ने बताएका छन् । शनिबार तानसेनको दमकडामा आयोजित लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको विकास र समृद्धिका लागि कानुनी शासन, जिम्मेवार निकाय र इमानदार कार्यशैली आवश्यक रहेको बताए ।
उनले सरकारका कामकारबाहीबारे विभिन्न कोणबाट प्रश्न उठ्नु स्वाभाविक भए पनि सरकारले कानुनी विधि र प्रक्रिया पूरा गरेर मात्रै निर्णय गर्ने गरेको स्पष्ट पारे । सभामुख अर्यालले संघीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक जटिलता समाधान गर्न कानुन संशोधनको काम अघि बढाइएको जानकारी दिए । समय र नागरिकको आवश्यकता अनुसार पुराना कानुन परिमार्जन गर्ने तथा संविधानअनुसार बन्न बाँकी कानुन निर्माण गर्नु अहिलेको प्रमुख दायित्व भएको उनको भनाइ थियो ।उनले नेपालको भौगोलिक अवस्था, नागरिकको आवश्यकता, चेतनाको स्तर र प्रविधिको विकासलाई ध्यानमा राखेर कानुन बनाउनुपर्नेमा जोड दिए ।
स्थानीय तहलाई सहज रूपमा काम गर्न र नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न आवश्यक कानुन निर्माणमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भूगोल सुहाउँदो र प्रविधिमैत्री कानुन निर्माणमा निरन्तर लाग्ने बताए । सभामुख अर्यालले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको जानकारी दिँदै यसले संसदीय गतिविधिमा पारदर्शिता र जनप्रतिनिधिको जवाफदेहिता बढाउने विश्वास व्यक्त गरे । डिजिटल पार्लियामेन्ट प्रणाली लागू भएपछि नागरिकले आफ्नो निर्वाचन क्षेत्रका सांसद संसद् बैठकमा कति पटक उपस्थित भए भन्ने विवरण मोबाइलबाटै हेर्न सक्ने उनले बताए । आगामी दिनमा सांसद सदनमा प्रवेश गरेको र बाहिरिएको समयसमेत सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ थियो । उनले सङ्घीय व्यवस्थामा तीन तहका सरकार रहेकाले नागरिक पनि आफ्नो अधिकार र जनप्रतिनिधिको कामप्रति सचेत हुनुपर्ने बताए । जनताले विश्वास गरेर जिम्मेवारी दिएका प्रतिनिधि जनताप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै उनले सरकारका कामको मूल्याङ्कन पनि कानुनी विधि र वास्तविक उपलब्धिका आधारमा गर्नुपर्ने धारणा राखे ।


