Shittalpati
सवारी दुर्घटना र डुबानले लियो पाँचको ज्यान, दुई जनाको शव फेला

पाल्पा,  देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटना तथा डुबेर पाँच जनाको मृत्यु भएको छ ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सर्लाही, बारा, मकवानपुर र बर्दियामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाको ज्यान गएको हो  भने सिरहामा डुवेर एक जनाको मृत्यु भएको हो ।

सर्लाहीको बरहथवा नगरपालिका–१७ कटानीस्थित सडकमा मलंगवाबाट सितापुरतर्फ जाँदै गरेको प्र.२–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक २३ वर्षीय रूकेश राउतको मृत्यु भएको छ । गम्भीर घाइते भएका राउतको बरहथवास्थित भेनस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ चार नम्बर पुल नजिकै हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको एनएल ०१ एल ९६०० नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक भारतको कोलकाताका ६० वर्षीय हरियर सिंहको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित सडकमा बा.प्र.०३–००५ प ५१४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा त्यसमा सवार ६४ वर्षीया लक्ष्मी देवी पाठकलाई ट्रकले किचेको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी पाठकको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् । प्रहरीले टूक चालकलाई नियन्त्रणमा लिएको छ । 

यसैगरी, बर्दियाको गेरुवा गाउँपालिका–१ जनकनगरस्थित सडकमा से.३ प ४१७० मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार ३० वर्षीय हरि विकको मृत्यु भएको छ । गम्भीर घाइते भएका विकको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य तीन जनाको नेपालगञ्जकै सन्जिवनी कलेज अफ मेडिकल साइन्समा उपचार भइरहेको छ । यसैबीच, सिरहाको लहान नगरपालिका–२० हरिनगराका २५ वर्षीय दुखि ठाकुरको घरनजिकै रहेको सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो पोखरीमा डुबेर अशक्त भएका ठाकुरको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, महोत्तरी र गुल्मीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको सोनमा गाउँपालिका–३ खखना टोलस्थित धान खेतमा १४ वर्षीया आँचल कुमारी यादव मृत अवस्थामा फेला परेकी छन् । उनी स्थानीय रञ्जित यादवकी छोरी हुन् । गुल्मीको रेसुङ्गा नगरपालिका–१४ सितडाँडास्थित गोरेटो बाटोमा नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला पनि शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


 

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update