Shittalpati
चिन्तामा किसान : स्याहार्ने बेला वर्षाले बिगार्‍यो धान

तानसेन (पाल्पा), किसानले मा?नो रोपी फलाएको मुरी धान वर्षाले विगारेपछि चिन्तित बनेका छन् । तिहार लगत्तै काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि पाल्पाका किसान चिन्तित बनेका हुन् ।

यहाँका विभिन्न फाँटमा पाकेका धान किसानले तिहार पर्व मनाएपछि काटेर खेतमै राखेका थिए । धान स्यहार्न नपाउँदै पानी परेपछि धान खेतमै उम्रिने होकि भन्ने किसानलाई चिन्ताले पिरोलेको छ । भोलि बिहान भित्र्याउन भनेर अघिल्लो दिन दिउँसो काटेको बाली राति परेको पानीले बर्बाद बनाएको माडीफाँटका किसान विक्रम कुमालले सुनाए । खहरेकी तारा रायमाझीले खेतमा धानका थुप्रो बनाएर राखेकी थिइन् । बुधबार धान स्याहार्ने योजना बनाएकी उनको मंगलबार विहानदेखि परेको पानीले भिजेको छ । “तीनदिन पछि मात्रै  पानी आएको भए पनि म धान भित्र्याइ सक्थें”,उनले भनिन् । यस्तै, अर्गेलीका भिम खनालको घर आँगनमा थुपारेको धान पनि भिजेको छ । “अलिकति धान सोमबार स्याहारेका थियौं बाँकी मगलबारलाई राखेका थियौं, पानी आइहाल्यो”,उनले भने, “पानी परेकाले धान स्याहार्न  नसकिएको हो, आज आगनै पानीले भिजेको छ ।” पोखराथोककी मिना कुमालले अधियाँ गरेको जमिनमा मजदुर लगाएर रोपाइँ गरेकी थिइन् । स्याहार्ने बेला पानीले क्षति पुर्‍याएपछि उनी चिन्तित छिन् । “धान स्याहारेर वर्षभरीलाई खाने धान छुट्याउँछु, बचेको धान बेचेर केटाकेटीको पढाइलगायत अन्य काममा खर्च गर्छु भन्ने सोच बनाएकी थिएँ, बेमौसमी वर्षाले सबै सपना चकनाचुर पारिदियो”, कुमालले भनिन् । “दुःख गरेर फसल उब्जाए पनि स्याहार्न पाइँदैन, आफ्नो जग्गा छैन् । ठेक्कामा लिएर काम गरे पनि प्रकृतिले ठग्छ । काटेर खेतमा राखेको धान खेतमै पानीले भिजायो ।” स्याहार्ने बेला पानीले क्षति पुर्‍याएपछि उनीहरु जस्तै यहाँका अधिकांस किसान चिन्तित बनेका छन् । तिहारअघि र पछि पाल्पाको रामपुर, माडी, झडेवा, कचल, पूर्वखोला, अर्गली, गेझालगायतका फाँटमा पाकेका धान किसानले स्याहार्दै थिए ।

केही किसानले भने पानी पर्ने भन्दै हतारहतारमा स्याहारेका छन् । यहाँ मंगलबार विहानैदेखि परेको वर्षाका कारण काटेको धानबालीमा केही क्षति पुगेको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख अमिता पाण्डेले बताइन् । उनका अनुसार जिल्लामा हालसम्म ८ प्रतिशत धान काटि सकिएको छ । यकिन तथ्याङ्क नआए पनि मंगलबारको  प्रारम्भिक  रिपोर्ट अनुसार २ प्रतिशत धानमा क्षति पुगेको प्रमुख पाण्डेको भनाई छ । उनका अनुसार १० वटै पालिकाका कृषि इकाइहरूमा क्षतिको विवरण संकलन गर्न आग्रह गरिएको छ । वर्षा जारी रहेका कारण सबै विवरण आइनसकेको प्रमुख पाण्डेले बताइन् । उनले भनिन्, “जिल्लाका सबै पालिकाहरूबाट विवरण संकलन भएपछि हामी क्षतिको विवरण सार्वजनिक गर्ने छौं ।” यहाँका किसानलाई स्थानीय तहले पहिलेदेखि नै पानी पर्ने सूचना गरेकाले पनि ठूलो क्षति हुनबाट भने बचेको प्रमुख पाण्डेले बताइन् । विहीबारसम्म पानी पर्ने मौसम विभागले जनाएकाले काटिसकिएको धानमा केही क्षति भने हुन सक्ने उनको भनाई छ । पाल्पामा ३६ हजार ५ सय ३७ हेक्टरमा  धान खेती हुँदै आएकोमा ८ हजार ६ सय २० हेक्टरमा बर्षेधान, ७ सय ५ हेक्टरमा चैते धान र २७ हजार २ सय १२ हेक्टरमा अन्य खेती हुँदै आएको छ । तर यस वर्ष ८ हजार २ सय १० हेक्टरमा मात्र वर्षेधान लगाइएको केन्द्रको तथ्याङ्कमा रहेको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update