Shittalpati
भयावह बन्दै आगलागी

पाल्पा, पछिल्ला केही दिन यता देशका विभिन्न भागमा आगालीका घटनाहरु बढेका छन् । सुक्खा खडेरी बढेसँगै आगालागीका घटना बढेका हुन् ।

अहिले तराई र पहाडका वनमा दिनहुँ आगलागीका घटना भइरहेका छन् । केही दिन यता पहाडी जिल्ला पाल्पा र गुल्मीमा आगालागी भयावह बन्दै गएको छ । जंगलमा लागेको आगो नजिकैका वस्तीमा फैलिएपछि अवस्था थप भयावह बन्दै गएको हो । जंगलमा लागेको भीषण आगो बस्तीमा सल्किँदा गुल्मीमा दर्जनौ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न ठाउँमा लागेको डढेलो बस्तीमा सल्किँदा ठूलो भौतिक क्षति हुन  पुगेको छ । डढेलो गाउँमा सल्किँदा त्यहाँको इस्मा गाउँपालिका –२ सिधुङखा, फेदिया, मैनडाँडा र वडा नं १ उजुङगमा दर्जनौं घरगोठ जलेर नष्ट भएका छन् । शनिबार विहान रानीबनमा लागेको आगो बस्तीमा पस्दा  सिधुङ्खा अधिकास घर, गोठ सखाफ भएका छन् । मानवीय क्षति नभए पनि घर, गोठ, पशुचौपाया र घरभित्र रहेका अन्नपात पुरै जलेका छन् । क्षतिको यकिन विवरण भने आइपुगेको छैन् । घरसहित अन्नपात र लत्ताकपडा जलेपछि त्यहाँका नागरिक खुला आकाशमा आइपुगेका छन् । सिंगो गाउँमै  आगलागी हुँदा केही घर, गोठ र पशुचौपाया जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजन भुजेलले जानकारी दिए । शनिबार बिहानैदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जंगल नजिकै रहेको वस्तीमा आगो आउन थालेपछि प्रहरी, सेना लगायत स्थानीय बासिन्दाहरु वस्तीतर्फ आगो आउन नदिन प्रयासरत रहे पनि हावाहुरीका कारण आगो नियन्त्रणमा कठिनाई भएको एसपी भुजेलले बताए । रेसुङ्गा नगरपालिकाको दमकल समेत त्यहाँ पुगेको छ । जंगलसगैं ति क्षेत्रमा करिब ५०/६० परिवारको बसोवास रहेको छ । अहिले सिदुङखामा लागेको आगो रानीवनमा झरेको छ । मैनाडाँडामा रहेका केही घरहरु समेत उच्च जोखिममा रहेको स्थानीय कमल खत्रीले बताए । उनका अनुसार सिधुङखा, रानीवन, बड्मान तिरबाट आगो फैलिएकाले मैनडाँडा समेत जोखिममा रहेको हो 

आगोका कारण फेदियामा समेत भौतिक क्षति भएको छ । प्रहरीका अनुसार आगालगीबाट एउटा ट्याक्टर जलेको र दुई जना घाइते भएका छन् ।  आगालीमा परी ट्याक्टर चालक ईश्मा गाउँपालिका –१ उजुङका १९  वर्षीय हिमाल राना र जेसिबि चालक मुसिकोट नगरपालिका –७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका हुन् । उनीहरुको हात, खुट्टा र अनुहारमा जलेको जिल्ला प्रहरी कार्यालले जनाएको छ । यस्तै ईस्मा गाउँपालिका–४ बर्लेघाट सामुदायिक वन स्थित चौया मखन्ने वनमा लागेको आगो बस्तिमा आउदा गोठ र पशुचौपाया जलेका छन् ।  यस्तै गुल्मीदरबार गाउँपालिका –३ उरिङ्डाडास्थित सितल सामुदायिक बनमा पनि  आगलागी भएको  छ । अहिले उक्त आगलागी बस्तिको नजिक आउन लागेको र नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार बिरबासस्थित रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएका थिए । जिल्लाका अन्य ठाउँहरुमा पनि आगालागी भइरहेको प्रहरीले जनाएको छ । यता पाल्पाको सदरमुकाम तानसेनको श्रीनगर डाँडास्थित जंगलक्षेत्रमा केही दिनयता डढेलो लागेको छ । मंगलबारदेखि शनिबार सम्म दैनिक डढेलो लागेको हो । सामुदायिक वनका उपभोक्ताले डढेलो नियन्त्रण प्रयास गरे पनि पुनः लाग्ने समस्याले पीडित भएको गुनासो गरेका छन् । शनिबार पनि कैलाशनगर जनिकै आगो लागि भएको थियो ।  प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । त्यहाँ कुनै मानवीय क्षति भने भएन ।  

यहाँ केही दिन यता तानसेन बजारदेखि केहीमाथि गणेश मन्दिर क्षेत्र, कैलासनगर क्षेत्र, गैरागाउँ, भुसालडाँडा क्षेत्रमा डढेलो लागेको छ । जिल्लाका अन्य ठाउँहरुमा पनि आलागाीाका घटनाहरु भइरहेका छन् । गर्मी बढेसँगै हरेक वस्तुको प्रज्ज्वलनशीलता बढ्ने र जमिन तथा भवनमा ओस नहुने कारणले आगोको सानो झिल्कोले क्षणभरमै भौतिक वस्तुसँगै मान्छेलगायतका प्राणीको ज्यान जान सक्ने खतरा हुन्छ । दिनहुँ आगलागीका घटना भइरहे पनि त्यसको नियन्त्रणतर्फ स्थानीय जनप्रतिनिधिले समेत प्रभावकारी कदम चाल्न सकेका छैनन् । केन्द्रीय र प्रादेशिक सरकार त यस्तो विषयमा आफैं अलमलमा देखिन्छ । वनमा भएका अनेक जीव र वनस्पतिलाई क्षणभरमा नै नष्ट पार्ने आगोले कहिलेकाहीं सिंगो गाउँ नै लपेट्न सक्छ भन्नेमा आममान्छेले ध्यान नदिनाले गर्मी बढ्दै जाँदा यो याममा धेरै स्थानमा आगलागी भइरहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update